निर्वाचन आयोगले केही राजनीतिक नेता र स्वतन्त्र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह (झापा–५), नेकपा एमालेका सचिव महेश बस्नेत (भक्तपुर–२), श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (सुनसरी–१) र स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस, रूपन्देही–२) लाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा स्पष्टीकरण दिन निर्देशन दिएको हो। बालेन शाहविरुद्ध उजुरी परेको थियो, जसमा उनका सामाजिक सञ्जाल अभिव्यक्तिहरू—जस्तै ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’—प्रमाण वा अदालतको निर्णयबिनै आपराधिक, घृणात्मक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ। शाहको अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा भनिएको छ ।
एमाले सचिव महेश बस्नेतमाथि पनि उजुरी परेको छ। उजुरीअनुसार उनले बालेन शाहको जनकपुर भाषणका केही शब्दलाई गलत अर्थमा व्याख्या गरेर मधेसी समुदायलाई अपमान गर्ने घृणात्मक अभिव्यक्ति दिएका थिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई चुनावमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको छ भने स्वतन्त्र उम्मेदवार कमल भुसालले प्रचारका क्रममा दुई वटा चुनाव चिह्न प्रयोग गरेको पाइएको छ। निर्वाचन आयोगले सबैलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।




















प्रतिकृया