यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुले कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागले हिजो मंगलबार सार्वजनिक सूचना जारी गर्दै हालै गरिएको भाडा वृद्धि डिजेल इन्जिनबाट चल्ने सवारीका लागि मात्र लागू भएको स्पष्ट पारेको हो।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि स्वचालित प्रणालीअनुसार चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएको भए पनि उक्त निर्णय विद्युतीय सवारीमा लागू नहुने विभागले जनाएको छ। पछिल्लो समय विद्युतीय सवारीले पनि बढेको भाडा लिने र यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट नदिने गुनासो बढेपछि विभागले कडाइ गर्ने निर्णय लिएको हो।
विभागका अनुसार विद्युतीय सवारीका लागि साविककै भाडादर कायम रहनेछ र सेवा प्रदायकले भाडा लिँदा अनिवार्य रूपमा टिकट दिनुपर्ने कानुनी व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेछ। यदि कुनै विद्युतीय सवारीले नियमविपरीत बढी भाडा लिएको वा अन्य उल्लंघन गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ।
यससँगै विभागले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै नियमविपरीत भाडा असुलिएको पाइएमा उजुरी गर्न अनुरोध गरेको छ।

















प्रतिकृया