चैत १३ मा बालेन्द्र शाहले प्रधानमन्त्रीको सपथ लिए। १४ गते शनिवार सेयर बजार बन्द भयो। १५ गते नेप्सेमा ७१ अङ्कको गिरावट आयो। भोलिपल्ट १६ गते ४७ अंक थपियो। सरकार बन्नुअघि २९५० को बिन्दुमा रहेको नेप्से चैत २२ सम्ममा २६७६ को बिन्दुमा झरिसकेको थियो। विषय विज्ञका रुपमा चिनिएका डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको ड्राइभिङ्ग सिट सम्हाल्ने भएपछि नीजि क्षेत्रका साथै सेयर बजारका लगानीकर्ताहरु पनि उत्साहित थिए। लगानीकर्तामा नयाँ सरकारप्रति उच्च अपेक्षा रहेका कारण सेयर बजारले पनि राम्रै उचाई चुम्नसक्ने आंकलन अधिकांशले गरेका थिए। तर त्यसको विपरित बजार उच्च अंकले घट्न थालेपछि आम लगानीकर्ता आत्तिए। त्यो बीचमा विचौलिया व्यवसायी दिपक भट्ट समातिए। आफ्नो प्रभावमा रहेका विभिन्न पब्लिक कम्पनीहरुको रकम दुरुपयोग गर्दै भट्टले २० लाख कित्ताको आसपासमा नेपाल रि इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा छानबिन गर्न भन्दै बीमा प्राधिकरणलाई लेखेको पत्र सार्वजनिक भएपछि त्यसले सेयर बजारका लगानीकर्तालाई थप प्यानिक बनायो। सोहि केसको अनुसन्धानका शिलशिलामा सम्पत्ति सुद्धिकरण विभागले देशकै प्रतिष्ठित व्यवसायिक घराना शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाललाई समातेपछि त्यसले हलचल मच्चायो।
अब सरकारले फटाफट ठूला व्यापारीहरुलाई समाउँदैछ भन्ने हल्ला चल्यो। आज यसलाई रे, भोलि उसलाई रे भनेर ठूला व्यापारीहरुका नामै लिएर गफ हुन थाले। दिपक भट्टको केसमा मुछिएको भृकुटी स्टक ब्रोकर (ब्रोकर नम्बर ५५) का सन्दीप चाचानलाई प्रहरीले सोधपुछका लागि बोलाएकोमा अर्का एक ठूला लगानीकर्ता सन्दीप जलानलाई प्रहरीले समात्यो भनेर बजारभरि हल्ला भयो। प्रभावस्वरुप २२ गते आईतबारका दिन नेप्से सूचक १०५ अंकले घट्यो।
यो बीचमा लगानीकर्ताहरुले सरकारको पूँजी बजार प्रतिको धारणा मागे। अर्थमन्त्री गुहारे। अर्थमन्त्रालय र अर्थमन्त्रीबाट आधिकारीक रुपमा केहि सम्बोधन भएन। वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याउने हल्ला चलेपछि अर्थमन्त्रालयले त्यो सत्य नभएको र अर्थमन्त्रीले सो विषयमा कुनै छलफल नगरेको भन्दै विज्ञप्ति निकाल्यो तर बजारको गिरावटबाट प्यानिक भएका लगानीकर्तालाई एक शब्द पनि सम्बोधन नभएपछि सरोकारवालाहरुले ‘चुपचाप घन्टी छाप, पोर्टफोलियो पत्तासाफ’ भन्दै आक्रोश व्यक्त गरे।
अर्थमन्त्री निकट स्रोतसंग बुझ्दा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका बेला प्रस्तुत गरेको घोषणापत्रमा पूँजीबजारको सुधार र विस्तारका लागि गरिने भनिएका सबै कुराहरु अक्षरश: अघि बढ्ने तर पहिलाजस्तो सेयर बजार अलिकति घट्ने बित्तिकै अर्थमन्त्रीले मिडियामा बोल्ने अनि बजार केहि अंकले बढ्ने अनि फेरी घट्ने यस्ता बेतुकका कुरामा आफू नलाग्ने अर्थमन्त्री डा. वाग्लेले बताएको बुझियो। ५ वर्षका लागि बनेको सरकारले नेपालको पूँजी बजारलाई कसरी अन्तराष्ट्रिय स्तरको बनाउने भन्ने सोचेर सोहि अनुसार कार्य गर्नुपर्ने र सानातिना उतार चढावमा अल्झिनु नहुने भन्दै यस विषयमा आफू नबोल्ने उनले बताएका थिए।
हरि ढकालको सकृयता
सेयर बजारमा व्यापक गिरावट आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई सैयौं फोन आए। पूँजी बजारका बारेमा वर्तमान सरकारको धारणा स्पष्ट पार्न पहल गर्नुपर्यो भन्दै कैयौं मेसेज आए। बजारमा आएको गिरावट उनी आफ्नै लागि पनि अप्रत्याशित थियो। सरकार बन्नुअघि नेपालको अर्थतन्त्र र सेयर बजार स्वर्णिम युगमा प्रवेश गरेको प्रतिकृया उनले संचारकर्मीहरुलाई दिएका थिए। बजारको गिरावटबाट चिन्तित ढकाललाई सैयौं लगानीकर्ताको आशा, पीडा र आक्रोश मिश्रित फोन र मेसेजहरुले थप उद्वेलित बनायो। सेयर बजारमा देखिएको गिरावट, सरोकारवालाहरुले व्यक्त गरेको चिन्ता र चासो, सामाजिक संजालमा देखिएको आक्रोशका बारेमा अवगत गराउने र आम लगानीकर्ताको माग बमोजिम अर्थमन्त्रीबाटै सम्बोधन गराउने उद्धेश्यका साथ आफ्ना केहि निकटम व्यक्तिहरुका साथमा उनी अर्थ मन्त्रालय पुगे।
उनले अर्थमन्त्रीलाई परिस्थितिको जानकारी गराए। सरकारले अब व्यापारीहरुलाई धरपकड गर्ने हो कि, सेयर बजारका बारेमा अर्थमन्त्रीले के सोचेका छन् , बजारको सुधारका लागि के के हुँदैछ जस्ता कुराहरुमा अर्थमन्त्रीको प्रत्यक्ष सम्बोधनको माग पूँजी बजार र निजी क्षेत्रले गरेको बताएपछि अर्थमन्त्री डा. वाग्लेले ५ वर्षका लागि आएको सरकारको अर्थमन्त्री सेयर बजार घट बढ जस्ता कुरामा अल्झिनु नहुने र बढ्ने घट्ने बजारको प्राकृतिक नियम भएकाले बजारलाई स्वतन्त्र रुपमा चल्न दिने पक्षमा आफू रहेको प्रतिकृया दिए। नेपालको बजारलाई भारतको जस्तो बनाउने आफ्नो योजना रहेको र बोलेर भन्दा गरेर देखाउने अर्थमन्त्रीले बताएको सो छलफलमा संलग्न रहेका लगानीकर्ता गोपाल स्वामी बताउँछन्। ‘यस अघिका अर्थमन्त्रीहरुले बोले मात्रै, केहि गरेनन्; तर म बोल्ने भन्दा पनि गरेर देखाउँछु भन्ने अर्थमन्त्रीको भाव थियो’, बजारको चिरफारसंगको कुराकानीका क्रममा स्वामी भन्छन।
यो चैत १७ को कुरा हो जुन दिन नेप्से परिसूचक १९ अंकले बढेर २८५१ मा बन्द भएको थियो।
त्यहि बिचमा शंकर ग्रुपमा अध्यक्ष शंकर अग्रवाल पक्राउ परे। १८ गते नेप्से ७४ अंकले घट्यो। बजारमा झन् ठूलो गिरावट आउन थालेपछि लगानीकर्ताहरु थप आक्रोशित हुँदै गए। बजारमा यत्रो गिरावट आउँदा पनि एक शब्द नबोलेको भन्दै अर्थमन्त्रीमाथि खनिए। हाम्रो संख्या पुगेका दिन गरेर देखाउँछौं भनेका हरि ढकाललाइ संख्या पुगेपछि के देखायौ भन्दै सामाजिक संजालमार्फत झटारो हान्न थाले। २२ गतेका दिन नेप्से १०५ अंकले घटेपछि बजारमा साना ठूला लगानीकर्ता तथा ब्रोकरहरु त्राहिमाम थिए।
त्यो वातावरणमा फेरी अर्थमन्त्री डा. वाग्लेलाई भेटेर अब पनि यदि आम लगानीकर्ताले बुझ्ने गरि स्पष्ट भाषामा संदेश प्रवाह नहुने हो भने सेयर बजार क्र्याश हुने र त्यसको क्षतिपूर्ति गर्न निकै समय लाग्ने भन्दै पहिलो चरणमा स्टक ब्रोकरहरुलाई भेटेर उनीहरुलाई विश्वासमा लिनुपर्ने स्पष्ट संदेश सांसद ढकालले दिए। फलस्वरूप सम्भवत: पहिलो पटक अर्थ मन्त्रालयले आफैले पहल गरेर धितोपत्र दलाल व्यवसायीहरुलाई मन्त्रालयमा बोलाई सरकारले सेयर बजार, अर्थतन्त्र र व्यापारी व्यवसायीका बारेमा के सोचेको छ भन्ने स्पष्ट पारेको छ। अर्थमन्त्रीले स्टक ब्रोकरहरु मार्फत प्रवाहित गरेको संदेशलाई बजारले निकै सकारात्मक रुपमा रियाक्ट गरेको देखिन्छ। २३ गते सोमबार नेप्से सूचक ८३ अंकले बढेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया