चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सोविता गौतम ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोग समक्ष पेस गरेकी छन्।
जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको विवरणअनुसार उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन अवधिभर गरेको सम्पूर्ण खर्च सार्वजनिक गरेकी हुन्।
पेस गरिएको विवरणअनुसार मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै प्रचार–प्रसार सामग्रीमा २ लाख ९६ हजार ८ सय रुपैयाँ खर्च गरिएको छ भने मतदाता प्रशिक्षणका लागि एक दिनमा २० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।
यसैगरी नमूना मतपत्र तथा घोषणा पत्र छपाइमा ६८ हजार २ सय रुपैयाँ खर्च भएको छ। २८ वटा वडामा गरिएको वडा स्तरीय प्रचार–प्रसारमा १ लाख ८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।
त्यस्तै सवारी साधन तथा चालक व्यवस्थापनमा १५ दिनका लागि ३ लाख २५ हजार रुपैयाँ, सचिवालय प्रयोजनका स्टेसनरीमा २३ हजार ४ सय ४५ रुपैयाँ तथा खाद्यान्न, रासन र पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
यसरी उम्मेदवार गौतमले निर्वाचन अवधिभर गरेको कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ रहेको विवरणमा जनाइएको छ।


प्रतिकृया