उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशीको वर्चस्व बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले गार्मेन्ट, सुनचाँदी लगायतका उद्योग तथा व्यवसायमा देखिने केही नेपाली अनुहार भए पनि वास्तविक रुपमा काम गर्नेहरू अन्य देशका नागरिक रहेको बताए।
उनले गार्मेन्ट उद्योगभित्र पुग्दा प्रायः विदेशी श्रमिक देखिने र सुनचाँदी क्षेत्रमा झन्डै तीन लाख बंगाली मूलका मानिसहरू रोजगारीमा रहेको दाबी गरे। “श्रम बजारमा अरूको कब्जा, अनि नेपालका युवाले खाडी मुलुक ताक्नुपर्ने बाध्यता किन?” भन्दै उनले गम्भीर प्रश्न उठाए। मन्त्री भण्डारीले यो समस्याको समाधानका लागि सरकार नीतिगत परिवर्तनतर्फ लागिपरेको बताए।
त्यस्तै, उनले अहिले सिपमूलक तालिम दिनु फेसनजस्तो बनेको टिप्पणी गर्दै सीप प्राप्तिपछि त्यसको मान्यता दिन आवश्यक रहेको धारणा राखे। काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेलाको उदाहरण दिँदै उनले भने, “सिप प्राप्त भएपछि त्यो सिपको प्रमाणिकता कसले दिन्छ?” उनले सीटीईभीटीको सर्टिफिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाइनुपर्नेमा जोड दिए।
सिप विकासका कार्यक्रम भए पनि सर्टिफिकेसनमा कमजोरी हुँदा नेपाली श्रमिकलाई उचित अवसर प्राप्त नभएको उनको भनाइ थियो। मन्त्री भण्डारीले दक्ष जनशक्तिको अभाव हटाउन उद्योग मन्त्रालय र श्रम मन्त्रालयबीच प्रभावकारी समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)


प्रतिकृया