नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष समेत रहेका ढकालले वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ को समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा प्रतिस्पर्धा गर्ने भएका हुन्।
उम्मेदवारी घोषणा गर्दै ढकालले महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताएका छन्। वस्तुगत सदस्यहरूका कानूनी तथा व्यवहारिक समस्याहरू समाधान गर्न सरकारसँग बहस, पैरवी र नीतिगत लबिङ गर्ने आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।
उनले नेपालको पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको उल्लेख गर्दै यसलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न आफूले पहल गर्ने बताए। हाल करिब ५० खर्ब रुपैयाँ हाराहारीको बजार पुँजीकरण रहेको पुँजी बजारलाई समग्र अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।
करिब दुई वर्षदेखि पुँजी बजारमा सक्रिय रहेका ढकाल जलविद्युत, होटल, पर्यटन र कृषि लगायत विभिन्न क्षेत्रमा पनि आबद्ध छन्। साथै, उनले धितोपत्र ऐन, २०६३ तथा सम्बन्धित नियमावलीहरूलाई समयानुकूल परिमार्जन गर्न पहल गर्ने बताएका छन्।
आधुनिक वित्तीय उपकरणहरूको विस्तारमा जोड दिँदै उनले मार्जिन ट्रेडिङ, इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड सँग समन्वय गरिने बताए। त्यस्तै, कमोडिटिज, विदेशी मुद्रा र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताबीच पुलको भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ।
साना तथा मझौला उद्यमहरूका लागि पूँजी जुटाउन एसएमई प्लेटफर्म र ओटीसी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन्। साथै, गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न स्पष्ट र सहज नीतिको माग गर्दै अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल गर्ने उनको उद्घोष छ।













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया