चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा सम्पर्कविहीन छन्। उनीहरूलाई जिम्मा लिएका वकिल र सचिवले जिल्ला अदालतमा उपस्थित नगराएपछि प्रहरीले ती वकिल र सचिवलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।
मिश्रलाई अधिवक्ता वसन्त ब्लोन र श्यामबहादुर शाहीको जिम्मामा र राणालाई श्रीमती र स्वकीय सचिव उमेश विष्टको जिम्मामा छुटाइएको थियो। हाल जिल्ला अदालतमा उनीहरूसहित ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलिरहेको छ। मिश्र र राणासहित ११ जना फरार छन्।
प्रदर्शन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईंको आह्वानमा भएको थियो, जसमा २ जनाको मृत्यु र सरकारी सम्पत्तिमा आगजनी भएको थियो। प्रसाईं भने हाल प्रहरी हिरासतमा छन्।




















प्रतिकृया