आज प्रधानमन्त्री ओलीले भिडियो कलबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल (भिडियो कल मार्फत) संवाद गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट हुने यो संवाद राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न बनाइएको सोही कोठाबाट सम्पन्न हुनेछ।
ओलीले अघिल्लो कार्यकालमै अत्याधुनिक सुविधासहित एक्सन रुम स्थापना गरेका थिए, जुन १५ जेठ २०७६ देखि सञ्चालनमा आएको थियो। ६ असोज २०७६ मा उनले त्यहाँ बसेर विभिन्न आयोजना अनुगमन गरेका थिए।
तर, शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एक्सन रुम प्रयोगमा ल्याइएन। चार वर्षभन्दा बढी निष्क्रिय रहेपछि उपकरणहरू बिग्रिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो देखाएपछि मर्मत गरिए पनि नियमित प्रयोग भएको थिएन।