राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजदेखि पुनः पार्टी जिम्मेवारीमा फर्कँदैछन्। सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टी भूमिकाबाट निष्क्रिय थिए। यस क्रममा उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकिएको थियो।
लामिछाने सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, र चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्, तर मुद्दा अझै अदालतमा विचाराधीन छ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, लामिछाने सोमबारको केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्किनेछन्। अपराह्न ३ बजे चःमतिस्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकको पहिलो चरण कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा हुनेछ। यस बैठकमा अर्यालले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्नेछन्।
त्यसपछि लामिछानेको अध्यक्षतामा दोस्रो चरणको बैठक बस्नेछ, जसमा पार्टी र सदनका गतिविधिबारे छलफल हुनेछ। सदस्यहरूले आ-आफ्ना संक्षिप्त रिपोर्टिङ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे समेत बैठकमा छलफल गरिनेछ।




















प्रतिकृया