अब विदेश जानेले ड्राइभिङ लाइसेन्स तुरुन्तै पाउने
सरकारले ‘अत्यावश्यक चालक अनुमतिपत्र छपाई निर्देशिका, २०८१’ लागू गरेको छ, जसले वैदेशिक रोजगार, अध्ययन, अन्तर्राष्ट्रिय शान्ति मिसन, कूटनीतिक नियोगलगायतका क्षेत्रका लागि सवारी चालक अनुमतिपत्र तुरुन्त उपलब्ध गराउने व्यवस्था गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार, भिसा आवेदन गर्न चालक अनुमतिपत्र अनिवार्य परेमा सम्बन्धित कन्सल्टेन्सी, म्यानपावर कम्पनी वा स्पोन्सरको सिफारिससहित आवश्यक कागजात पेश गरेर अनुमतिपत्र तुरुन्त प्राप्त गर्न सकिन्छ।
यस्तै, सरकारी वा निजी क्षेत्रमा रोजगारीका लागि आवेदन गर्दा चालक अनुमतिपत्र अनिवार्य भएमा सम्बन्धित प्रमाणसहित तत्काल अनुमतिपत्र पाउन सकिनेछ।
अनलाइनबाट आवेदन दिन सकिने सुविधा समेत व्यवस्था गरिएको छ, तर सर्भर डाउन वा अन्य प्राविधिक समस्या भएमा आवश्यक कागजातसहित कार्यालयमै आवेदन गर्न सकिनेछ। यसका साथै, विद्यालय, अस्पताल वा अन्य सार्वजनिक निकायमा अनुमतिपत्र आवश्यक परेमा सम्बन्धित कार्यालयको सिफारिससहित आवेदन गर्न सकिनेछ। यो निर्देशिका सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ अन्तर्गत जारी गरिएको हो।