एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार, ग्राहकको खाताबाट भएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकारको आन्तरिक राजस्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा जोड्न आवश्यक भएकोले प्यान अद्यावधिक अनिवार्य भएको हो।
ग्राहकहरूले आफ्नो प्यान bankको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप ‘NIC ASIA MoBank’ मार्फत सजिलै अद्यावधिक गर्न सक्नेछन्। साथै, इच्छुक ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट पनि सोही प्रयोजनका लागि अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार, निक्षेपकर्ताको ब्याज भुक्तानीमा कटाइएको करलाई ई–टीडीएस रेकर्डमा अभिलेख गर्न प्यान अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक गरेपछि करकट्टी विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने र यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजता प्रदान गर्ने बैंकको भनाइ छ। यसले प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने झन्झट पनि हटाउने विश्वास बैंकले व्यक्त गरेको छ।
त्यसैगरी, प्यान अद्यावधिक नगरेका ग्राहकहरूको ब्याज कर ई–टीडीएसमा दाखिला नहुने वा पछि समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने चेतावनी पनि बैंकले दिएको छ। यस्तै, बैंकले ग्राहकहरूलाई खाताको इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। यसको लागि ग्राहकहरूले बैंकको भिडियो केवाईसी पोर्टल https://www.nicasiabank.com/video-kyc/ वा ‘NIC ASIA MoBank’ एपमा रहेको ‘My Profile’ → ‘Change Email’ विकल्प प्रयोग गर्न सक्नेछन्।




















प्रतिकृया