खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंले सिंहदरबारस्थित दुई वटा चमेनागृहमा संयुक्त बजार अनुगमन तथा निरीक्षण गरेको छ। मिति २०८३/०४/२६ गते गरिएको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ।
अनुगमनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चमेना गृह किशु चमेना गृहको भान्सा साँघुरो रहेको र केही भाग खुला स्थानमा खाद्य पदार्थ तयार गर्ने गरिएको पाइएको छ। त्यस्तै, Exhaust को व्यवस्था प्रभावकारी नरहेको, कीट नियन्त्रणको व्यवस्था पर्याप्त नभएको तथा भान्साको सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको छ। प्रयोगमा रहेको तेलको TPM भने ९.५ रहेको र मापदण्डअनुकूल पाइएको विभागले जनाएको छ।
अर्थ मन्त्रालयको चमेना गृह मनकामना आर एसजे भीमा गरिएको निरीक्षणका क्रममा कीट नियन्त्रणको अवस्था सामान्य पाइएको थियो। उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ प्रयोग नगरिएको तथा भण्डारण कक्षमा समेत त्यस्ता खाद्य पदार्थ नभेटिएको विभागले जनाएको छ।
अनुगमनपछि दुवै चमेनागृहलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ। साथै, सरसफाइ तथा कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन र चमेना गृहको भौतिक संरचनामा आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।
किशु चमेना गृहलाई भान्साको सरसफाइ सुधार गर्न, Exhaust तथा कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन र आवश्यक सुधारपछि सात दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। त्यस्तै, मनकामना आर एस जे भीलाई पनि नियमित सरसफाइ तथा भुइँ, भित्ता र सिलिङको सरसफाइमा थप ध्यान दिन निर्देशन दिइएको विभागले जनाएको छ।


प्रतिकृया