instainsta

नेकपा धुलो टक्टकाएर फेरि उठ्छ, नेतृत्व हाम्रै हातमा आउँछ: वर्षमान पुन

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ६ गते
नेकपा धुलो टक्टकाएर फेरि उठ्छ, नेतृत्व हाम्रै हातमा आउँछ: वर्षमान पुन
AdvertisementAds

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले निर्वाचनमा अपेक्षित परिणाम नआए पनि विचलित नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन्। काभ्रेमा आयोजित कार्यक्रममा उनले नेकपा “धुलो टक्टकाएर” पुनः अघि बढ्ने बताएका हुन्।

पुनले विचार, राजनीति, सङ्गठन, नेतृत्व तथा कार्यशैलीको पुनःमूल्यांकन गर्दै जनताको भावना र वर्तमान आवश्यकताअनुसार पार्टीलाई पुनर्गठन गरिने बताए। उनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले नै गर्ने दाबीसमेत गरे।

उनका अनुसार नेकपा रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा गए पनि जनताले पार्टीलाई पुरानै राजनीतिक शक्तिको रूपमा मूल्यांकन गरेका छन्। ‘हामी पुराना हौँ, तर उस्तै खालका पुराना होइनौँ,’ उनले भने, ‘हामी फेरि जनतामा जान्छौँ।’

पुनले हिंसात्मक गतिविधिप्रति पार्टीको असहमति स्पष्ट पार्दै भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवामाथि गोली चलाउने र २४ गते सिंहदरबारमा भएको आगजनीजस्ता घटनाको पक्षमा आफूहरू नरहेको बताए।

उनले शहीदहरूको बलिदानलाई आत्मसात गर्दै निराश नभई नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए। ‘१० वर्षे जनयुद्धका क्रममा पनि धेरै क्षति र हार भए, तर नेतृत्वले हार मानेन,’ उनले स्मरण गरे, ‘अब पनि ठन्डा दिमागले समग्र पार्टी संरचनाको पुनर्मूल्यांकन गरेर अघि बढ्नुपर्छ।’

पुनले जनताले निर्वाचनमार्फत नयाँ भनिएका दललाई समर्थन गर्दै पुराना दललाई आफ्नो कार्यशैली सुधार्न चेतावनी दिएको उल्लेख गरे। उनले यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए।

उनले जनयुद्धको सुरुवात सीमित कार्यकर्ताबाट भए पनि पछि व्यापक जनसमर्थन प्राप्त गर्दै गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता उपलब्धि हासिल भएको उल्लेख गरे।

यस्तै, प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासन अभियानकै निरन्तरताका रूपमा युवाहरूले भदौ २३ गते आन्दोलन गरेको दाबी गर्दै उनले त्यसपछिको राजनीतिक परिस्थितिले असन्तुष्टि बढाएको बताए।

पुनले देशमा सम्भावित अस्थिरता र जनअसन्तुष्टिबारे पहिले नै सचेत गराइएको भए पनि त्यसको सुनुवाइ नभएको उल्लेख गर्दै ‘जेनजी’ आन्दोलनलाई जनभावनाको विस्फोटको रूपमा व्याख्या गरे।

अन्त्यमा, निर्वाचनमार्फत ठूलो जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन, समानता र रोजगारीमा केन्द्रित भएर काम गर्न सुझाव दिँदै उनले त्यस्ता सकारात्मक पहलमा नेकपाको सहयोग रहने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स