भिजिट भिसा प्रकरणमा पीडितका १२ सय भन्दा बढी प्रमाण आएका छन्: हरि ढकाल
रास्वपा सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा सेटिङमार्फत पैसा बुझाइएको १,२०० भन्दा बढी प्रमाण आफूले प्राप्त गरेको दाबी गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले तीमध्ये अधिकांश रकम नगदमार्फत बुझाइएको पाइएको बताए।
उनका अनुसार, सांसदहरू सोविता गौतम, मनिष झा, शिशिर खनाल र उनले सामाजिक सञ्जालमार्फत प्रमाण माग्दा १२ भन्दा बढी जनाले पैसा बुझाएको प्रमाण पठाएका थिए। उनले खुलाएअनुसार, एयरपोर्टमा बुझाउने एक निश्चित रकम दलाललाई दिइने चलन रहेको देखिएको छ, जसमा केही क्यास र केही बैंक ट्रान्जेक्सनसमेत छन्। विशेषगरी, एयरपोर्टमा भने अधिकांश कारोबार नगदमा भएको पाइएको उनले बताए।
सांसद ढकालले भिजिट भिसाका नाममा महिलाहरूलाई दुबई लगेर अन्ततः कुवेत पुर्याइएको जानकारी पनि आफूले पाएको उल्लेख गरे। उनले २०६४ सालपछि गृहमन्त्री भएका सबैको छानबिन हुनुपर्ने र हालका गृहमन्त्री रमेश लेखकले छानबिनमा प्रभाव पार्न सक्ने भएकाले अनिवार्य रूपमा राजीनामा दिनुपर्ने अडान पुनः दोहोर्याए।