अर्थ सहित ६ वटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु
संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभाका ६ वटा संसदीय समितिको बैठक बस्नेछ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ, जसमा भन्सारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ।
त्यस्तै, बिहान ११:३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालका बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी, अतिक्रमित जग्गा तथा स्वर्गद्वारी गुठी किसानका समस्याहरूको समाधान सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गरिनेछ।
दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ, जहाँ सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदा तथा उजुरी अध्ययनसम्बन्धी छलफल हुनेछ। राष्ट्रियसभातर्फ विधायन व्यवस्थापन समितिको बैठक बिहान ११:३० बजे बस्नेछ, जसमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिनेछ।
यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ।