प्रभु बैंकलाई महेश बस्नेतको प्रश्न: युवाले व्यवसाय गर्न पाँच लाख नपाउने, रवि लामिछानेलाई बिना धितो २ करोड २५ लाख किन?
नेकपा एमालेका नेता महेश बस्नेतले प्रभु बैंकलाई रवि लामिछानेलाई बिना धितो करोडौं ऋण उपलब्ध गराएको भन्दै प्रश्न उठाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत बस्नेतले युवाहरूलाई व्यवसाय सुरु गर्न पाँच लाख रुपैयाँको ऋणसमेत पाउन गाह्रो हुने अवस्थामा प्रभु बैंकले रवि लामिछानेलाई रातारात रु. २ करोड २५ लाख बिना धितो कसरी उपलब्ध गरायो भन्दै छानबिनको माग गरेका छन्।
उनले लेखेका छन्, “सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर ९ वटा सेक्टरमा रु. १५ लाखदेखि २ करोडसम्म ऋण प्रवाह गर्न निर्देशन दिएको छ, तर बैंकहरूले त्यो नियमलाई बेवास्ता गरिरहेका छन्। यस्तो अवस्थामा, प्रभु बैंकले बिना धितो रवि लामिछानेलाई करोडौं ऋण किन उपलब्ध गरायो?”
बस्नेतले लामिछाने र प्रभु बैंकबीच कुनै गलत साठगाँठ हुन सक्ने संकेत गर्दै भनेका छन्, “प्रभु बैंक र रवि लामिछानेबीचको कनेक्सन के हो? विभिन्न सहकारीहरूबाट ठगी गरी ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न प्रभु बैंकले लामिछानेलाई संरक्षण किन गरिरहेको छ?”
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेले रुपन्देही जिल्ला अदालतबाट रु. १ करोड धरौटीमा रिहा पाएका थिए, जुन प्रभु बैंकको ग्यारेन्टीमार्फत बुझाइएको थियो।
यसअघि पनि लामिछानेले सहकारी ठगीसम्बन्धी अन्य मुद्दाहरूमा प्रभु बैंकको ग्यारेन्टी प्रयोग गर्दै कास्की र काठमाडौं जिल्ला अदालतमा क्रमशः रु. ६५ लाख र रु. ६० लाख धरौटी बुझाएका थिए।