भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको ‘जेनजी विद्रोह’पछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति स्वरूप उदाएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदाताप्रति आभार व्यक्त गरेका छन्। देशभरि आफ्ना उम्मेदवारलाई मतदान गर्ने र सद्भाव राख्ने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति उनले धन्यवाद दिएका हुन्।
घिसिङले चुनावी अभियानमा अहोरात्र खटिएका पार्टीका नेता–कार्यकर्ता तथा सहयोगीप्रति विशेष आभार व्यक्त गर्दै विषम परिस्थितिमा पनि निर्वाचन सफल बनाउन योगदान दिने प्रधानमन्त्री, मन्त्रिपरिषद् सदस्य, सुरक्षा निकाय, कर्मचारी र सम्बन्धित सबैलाई धन्यवाद दिएका छन्। उनका अनुसार यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजको परिणामस्वरूप आएको परिवर्तनको अवसर पनि थियो।
उनले देशलाई नाराभन्दा बढी स्पष्ट दृष्टिकोण, योजनाबद्ध काम र निर्णय गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भने, “हामीले धेरै आन्दोलन र घोषणा देख्यौं, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो।” उनले पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय नगर्ने प्रणालीले विकासलाई रोकिरहेको बताए।
ऊर्जा क्षेत्रका उपलब्धिहरूको चर्चा गर्दै घिसिङले भन्नुभयो कि एक समय १८ घन्टासम्म लोडसेडिङ भोगेको देशलाई साहसी निर्णय र दृढ नेतृत्वले उज्यालोतर्फ लैजान सकिन्छ। करिब ५८ प्रतिशत घरधुरीमा मात्रै विद्युत् पुगेको अवस्थाबाट ९९ प्रतिशत घरधुरीमा पुर्याइएको, नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई आयातकर्ताबाट निर्यातकर्ता बन्ने आत्मविश्वास दिलाइएको महत्वपूर्ण उपलब्धि भएको उनले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमा बन्चरेडाँडाको फोहोर व्यवस्थापन अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्याएका सडक पुनः सञ्चालन गर्ने र वर्षौं अलपत्र रहेका विकास आयोजनाको ठेक्का तोड्ने जस्ता काम अघि बढाइएको उनले उल्लेख गरे। साथै बूढीगण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट), किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय गर्नु पनि ठूलो उपलब्धि रहेको उनको भनाइ थियो।
घिसिङले स्पष्ट पारे कि पार्टी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावी मैदानमा भए पनि यसपटक आफ्नो मत परिणाम पक्षमा नआएको छ। उनी काठमाडाैं क्षेत्र ३ बाट रास्वपा उम्मेदवारसँग पराजित भएका थिए। “लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौं, तर मतमा जित्न सकेनौं,” उनले भने। चुनावमा हारलाई उनले ‘प्राविधिक विषय’ मात्र ठहराए।
उनले परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले ठूलो जनमत दिएको उल्लेख गर्दै देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न सफल हुन शुभकामना दिए। साथै सरकारका राम्रा काममा समर्थन गर्ने र गलत काम भए सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उज्यालो नेपाल पार्टीको प्रतिबद्धता रहेको बताए।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)



प्रतिकृया