फोहोरबाट ऊर्जा उत्पादन गर्ने टेकु परियोजना पुनः सञ्चालन हुने, काठमाडौं महानगर र एईपीसीबीच समझदारी

फोहोरबाट ऊर्जा उत्पादन गर्ने टेकु परियोजना पुनः सञ्चालन हुने, काठमाडौं महानगर र एईपीसीबीच समझदारी
Advertisement Ads

काठमाडौं महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको पहलमा परियोजनालाई नमूना कार्यक्रमका रूपमा पुनःस्थापना गरी दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

मन्त्री श्रेष्ठले शहरी क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोडेर वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा काम अघि बढाउने प्रस्ताव गर्नुभएको थियो। सोही प्रस्तावका आधारमा टेकुस्थित परियोजनालाई पुनर्जीवित गर्ने सहमति भएको हो।

हालै मन्त्री श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच भएको भेटवार्तामा टेकुस्थित परियोजनालाई चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो। साथै, काठमाडौंका सडकबत्तीको प्रभावकारी व्यवस्थापन तथा मर्मत, सौर्य सडकबत्ती विस्तार र सम्पदा क्षेत्रमैत्री विद्युतीकरणका विषयमा पनि विस्तृत छलफल भएको थियो।

उक्त छलफलपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी बोर्ड सदस्य अंकिता शाहले अन्तरनिकाय समन्वय गरेकी थिइन्। केन्द्रले आगामी दिनमा सौर्य सडकबत्ती विस्तार, सम्पदा संरक्षणसँग अनुकूल विद्युतीकरण तथा फोहोरबाट ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा महानगरसँग थप सहकार्य गर्ने तयारी गरेको उनले बताइन।

समझदारीपत्रमार्फत परियोजनाको पुनर्निर्माण, सञ्चालन, हस्तान्तरण तथा दीर्घकालीन व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ। समझदारीअनुसार परियोजनालाई आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्माण भएको उक्त परियोजना केही समय सञ्चालनमा रहेपछि बन्द भएको थियो। अब यसको पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोत विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम’ मार्फत व्यवस्थापन गरिने केन्द्रले जनाएको छ।

यस कार्यक्रमअन्तर्गत हालसम्म सात वटा नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना कार्यान्वयन भइसकेका छन् भने २० भन्दा बढी ठूला व्यावसायिक बायोग्यास परियोजनाले सहयोग प्राप्त गरेका छन्।

केन्द्रका अनुसार देशभरका नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। साथै, हरित जलवायु कोष (Green Climate Fund) मा पेश गर्ने उद्देश्यले करिब ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव तयार भई अर्थ मन्त्रालयको सहमति प्रक्रियामा रहेको छ।

यसका अतिरिक्त, पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत कार्बन बजारसँग सम्बन्धित फोहोरबाट ऊर्जा परियोजनाको विकास प्रक्रिया पनि अघि बढाइएको छ। संस्थागत, सामुदायिक तथा व्यावसायिक क्षेत्रका साना, मझौला तथा ठूला बायोग्यास परियोजनालाई प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रले आशयपत्र आह्वानसमेत गरिसकेको जनाएको छ।

शहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको अवस्थामा यस्ता परियोजनाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्र (Circular Economy) को विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स