आइएमई ग्रुपको करिब डेढ अर्ब रुपैयाँ लगानीमा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा स्थापना गरिएको नेपालकै पहिलो अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाण्डौमा आयोजित उद्घाटन समारोहमा यस उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड र त्यसबाट बन्ने विभिन्न उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरे। उनले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फ ठूलो प्रगति भएको बताए। मन्त्री भण्डारीले यो उद्योगले मात्र आयात प्रतिस्थापन गर्ने होइन, निर्माण क्षेत्रलाई दिगो विकासतर्फ डोर्याउने भएकाले सरकारले यस्ता उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन गर्ने पनि बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोत प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्याउने उदेश्यले यो नयाँ उद्योग स्थापना गरिएको बताए। उनले यसले देशभित्र रोजगारी सिर्जना गर्दै आयात प्रतिस्थापन गरी ठूलो मात्रामा विदेशी मुद्रा बचत गर्ने भएकाले आत्मनिर्भर अर्थतन्त्रका लागि मार्ग प्रशस्त हुने बताए। साथै, स्वदेशी सीप र स्थानीय स्रोत प्रयोग गरेर नेपालमै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्री उत्पादन सम्भव भएको सन्देश यसले दिएको बताए।
यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्राइङसम्म सबै प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छ। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ। यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि प्रतिरोधी, घाम–पानीले नअसर पर्ने, वातावरणमैत्री र अत्यन्त टिकाउ छन्।
फाइबर सिमेन्ट बोर्डलाई भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा प्रयोग गरिन्छ। इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण गर्न पनि सकिन्छ, जुन १०–१५ दिनमै तयार हुने भएकाले यसको माग नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ।
प्राकृतिक प्रकोप जस्तै भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा पनि यस उद्योगका बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प साबित हुनेछन्। प्लास्टर वा रङ्गको झन्झट नहुने हुँदा समय र लागतमा उल्लेखनीय बचत हुनेछ।
स्थानीय रोजगार प्रवर्द्धनमा यो उद्योगले विशेष जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार रहेका छन्। उनीहरू प्रोसेसिङदेखि प्याकिङसम्म सबै काममा संलग्न छन्।
एभरेष्ट फाइबर सिमेन्ट बोर्डले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ।















प्रतिकृया