सरकारले संसद छल्ने अध्यादेशको बाटो रोजे ओलीको जस्तै हालत हुन्छ: ज्ञानेन्द्र शाही

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १३ गते
सरकारले संसद छल्ने अध्यादेशको बाटो रोजे ओलीको जस्तै हालत हुन्छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले सरकारलाई संसदबाट नभागी विधायिकी प्रक्रियामार्फत जनताका समस्या समाधान गर्न आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले कानून निर्माणका लागि संसदको विकल्पमा अध्यादेशको बाटो रोज्न नहुने बताए। ‘रास्वपाको सरकारले बनाउने हो कि सरकारले बनाउने हो ? ऐन बनाउने त संसदले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ । संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनि नगर्नुस्’ उनले भने ।

शाहीले संसद जनताको आवाज अभिव्यक्त हुने थलो भएको र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको भूमिका झनै महत्वपूर्ण हुने धारणा राखे।

उनका अनुसार सुकुम्बासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था र भूमि व्यवस्थापनजस्ता दीर्घकालीन मुद्दाहरू संसदबाटै कानुन बनाएर समाधान गर्नुपर्छ। साथै, अन्तरसरकारी समन्वयको अभावका कारण संघीय सरकारले गरेका कतिपय निर्णयहरू प्रदेश र स्थानीय तहले कार्यान्वयन नगर्ने अवस्था देखिएको भन्दै उनले सरकार गम्भीर हुनुपर्ने बताए।

उनले “दुई दिन बिदा” जस्ता नीतिगत निर्णयहरू कार्यान्वयनमै चुनौती देखिएको उल्लेख गर्दै कतिपय स्थानीय तहले नै अस्वीकार गर्ने अवस्था आएको बताए। यसले शासन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको उनको भनाइ थियो।

शाहीले संघीयताका कारण देशमा अतिरिक्त आर्थिक भार परेको दाबी गर्दै, आवश्यकता परे प्रदेश संरचना खारेज गर्नुपर्ने विषयमा पार्टी सहयोग गर्न तयार रहेको पनि बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स