म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले पद धारण गरेपछि जे–जे काम आइपर्छ त्यही गर्ने तयारी रहेको प्रतिक्रिया दिएका छन्।
बिहीबार सांसदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका पुनले पत्रकारको प्रश्न, “विधायिकी अभ्यास कसरी गर्नुहुन्छ?” मा जवाफ दिँदै भने, “अब जे–जे आइपर्छ त्यही गर्ने। मेरो तरिका त्यही हो, जे–जे आइपर्छ गर्ने, पछि नहट्ने। भविष्यमा के–के आइपर्छ, केही थाहा छैन अहिले। भविष्यको कुरा कसैलाई थाहा हुँदैन, भगवान्लाई मात्र थाहा हुन्छ होला। भगवान्लाई पनि कुन्नी!”
उनले थपे, “अहिले नै यो गर्छु, त्यो गर्छु भन्न सकिँदैन। मेरो भूमिका के–के हुनेछ भन्ने कुरा हुँदैन, तर राम्रो काम गर्ने भूमिका हुनेछ।”
पूर्व शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा उनले टन्न अनुभव र सिकाइ पाएका रहेको बताए। उनले शिक्षामा राजनीतिकरण हटाउने योजना रहेको उल्लेख गर्दै भने, “शिक्षामा भएको राजनीतिकरणले विश्वविद्यालय र विद्यालय दुबैको शिक्षा बिगारेको छ, त्यसलाई सुधार्ने मेरो उद्देश्य हो।”




















प्रतिकृया