आशिका तामाङलाई प्रहरीले किन पक्राउ गर्यो?
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपीका अनुसार तामाङलाई पक्राउ गरिएको जानकारी दिएका छन्। उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा लगिएको छ।
प्रहरीका अनुसार, तामाङलाई गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो। साथै, पुस २८ गते उनको विरुद्ध अभद्र व्यवहारको आरोपमा पक्राउ पुर्जी जारी गरिएको थियो।
तामाङको पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा महिला प्रहरीसँग दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुक र अन्य सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आएकी छन्।