दुई कम्पनीले सेयर सर्वसाधारणका लागि बिक्रिमा राखेका छन् । हिमालयन पावर पार्टनर र यूनाइटेड अजोड इन्स्योरेन्सले सेयर बिक्रिमा राखेका हुन् ।
हिमालयन पावर पार्टनर लिमिटेडले जेठ २७ गतेदेखि कुल ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद सेयर लिलाममार्फत बिक्री खुला गरेको हो। उक्त सेयरका लागि लगानीकर्ताले असार ४ गतेसम्म प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा आवेदन दिन सक्नेछन्।
बोलपत्र आवेदन बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालमार्फत पेश गर्न सकिनेछ। साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी तथा महेन्द्रनगर शाखा कार्यालयबाट पनि फाराम प्राप्त तथा बुझाउन सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेष्ठ २९ गतेदेखि कुल ७० हजार ४८० कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ। यसमा लगानीकर्ताले असार ८ गतेसम्म प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै आवेदन दिन सक्नेछन्
बोलपत्र आवेदन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत तथा लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखा कार्यालयबाट समेत पेश गर्न सकिने व्यवस्था गरिएको छ।
लिलामी प्रक्रियामा व्यक्ति, संस्था तथा कम्पनी सबैले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्ने व्यवस्था रहेको छ। प्राप्त बोलपत्रमध्ये उच्च मूल्य कबोल गर्ने आवेदकलाई प्रचलित नियमअनुसार सेयर बाँडफाँड गरिने दुवै कम्पनीले जनाएका छन्।

प्रतिकृया