गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट र तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन्। भारतीय सीमासँग जोडिएका लुम्बिनीका तराईका जिल्लाहरूमा व्यापक राजस्व चुहावट र तस्करी भइरहेको सूचना प्राप्त भएपछि गृहमन्त्रीले सुरक्षा निकायलाई यसमा गम्भीर भएर काम गर्न आदेश दिएका हुन्।
गृहमन्त्री लेखकले गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयको आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिमानामा भइरहेको अपराध, तस्करी र राजस्व चुहावट तुरुन्त नियन्त्रण गर्न निर्देशन दिए। उनले राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाममुखी नतिजा ल्याउन सुरक्षा निकायलाई जिम्मेवारी दिएका छन्। यदि तस्करी नियन्त्रण गर्न नसके, त्यसको मूल्यांकन गरी दण्डित गरिने उनले बताए।
‘क्रसबोर्डर अपराध र तस्करीका कारण राजस्व चुहावट भइरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस्।’
यसका साथै, गृहमन्त्री लेखकले पछिल्लो समय साइबर अपराधका घटनाहरू पनि बढेको भन्दै यसलाई नियन्त्रण गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति र सुरक्षा मजबुत हुनुपर्ने कुरा गृहमन्त्रीले जोड दिँदै जनताको मौलिक हकअधिकारको सुनिश्चितता नै लोकतन्त्रको पूर्वशर्त रहेको बताए। उनले शान्ति र सुरक्षा खलबलिने बित्तिकै मौलिक हक अधिकार गुम्ने भएकाले सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम राख्न आग्रह गरे।
गृहमन्त्री लेखकले कानुनको पालना सबैको दायित्व भएको उल्लेख गर्दै भने, ‘कानुनले कसैलाई विभेद गर्दैन, सबैका लागि समान हुन्छ, त्यसैले कानुनका नियमहरूको पालना गर्नु सबै नागरिकको दायित्व हो।’
मंगलबारको गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका गण र बाहिनी प्रमुखहरू सहभागी थिए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया