विपद् जोखिम न्यूनीकरणका लागि काठमाडौं, पोखरा र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ: गृहमन्त्री लेखक

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
विपद् जोखिम न्यूनीकरणका लागि काठमाडौं, पोखरा र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले आवश्यक परे अन्य स्थानहरूमा पनि हेलिकप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको जानकारी दिए। सीमित स्रोत साधनका बाबजुद सरकारले विपद् न्यूनीकरणमा उच्च प्राथमिकता दिएको उनले बताए।

उनले भने, “आवश्यकता अनुसार हेलिकप्टर एसोसिएसनसँग पनि हेलिकप्टर तयारी अवस्थामा राख्ने विषयमा समन्वय भएको छ। सीमित स्रोत साधनका बीच विपद् प्रतिकार्य र न्यूनीकरणका लागि सरकार लागिपरेको छ।”

मनसुन सुरु भइसकेको अवस्थामा सरकार आवश्यक तयारीमा जुटिरहेको उनले बताए। “जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ, राहत सामग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देशन दिइएको छ र सूचना जारी गर्ने पद्धतिकाे विकास भएको छ,” उनले भने।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग सबै आ–आफ्नो ठाउँबाट विपद् न्यूनीकरण र प्रतिकार्यमा सक्रिय रहेको उनले बताए। “प्रहरीका सबै प्रमुखहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,” उनले स्पष्ट पारे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स