श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको, संसदीय परम्पराको बेवास्ता गरेको र जनताको सार्वभौम सदनलाई कमजोर बनाएको आरोप लगाएका छन्।
उनका अनुसार प्रधानमन्त्री नीति तथा कार्यक्रम प्रस्तुत हुने समयमा अनुपस्थित रहे, छलफलमा सहभागी भएनन् र संसदीय मर्यादा कायम राख्न असफल भए। साथै जनतालाई प्रत्यक्ष सम्बोधन नगरेर लोकतन्त्रमाथिको विश्वास कमजोर बनाएको पनि उनले बताएका छन्।
साम्पाङले प्रधानमन्त्रीमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको आरोप लगाउँदै उनलाई ‘असक्षम र असफल’को संज्ञा दिएका छन्। उनले प्रश्न गरेका छन्, “आफ्नो धरातल बिर्सेर जनताका प्रश्नको उत्तर दिन नसक्ने र लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर स्थापित गर्छ?”
विज्ञप्तिमा उनले न्यूनतम कर्तव्यसमेत पूरा नगरेकाले नैतिकताको आधारमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। “कर्तव्य पूरा नगरी अधिकार प्राप्त हुँदैन, त्यसैले नैतिकताको आधारमा राजीनामा दिए लोकतन्त्र सम्मानित हुने देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ।


प्रतिकृया