ज्ञानेन्द्र शाहीले माओवादी कार्यकर्ता माथि लगाए जडिबुटी केन्द्रमा आगो लगाएको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने व्यक्ति माओवादी कार्यकर्ता भएको आरोप लगाएका छन्। बल्खुमा मंगलबार आयोजित आमसभामा बोल्दै उनले चैत १५ गते जडिबुटी केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको दाबी गरे। “राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो—सरकारी सम्पत्ति तोडफोड गर्ने र जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको पुष्टि भएको छ,” उनले भने।
शाहीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा आरोप लगाएर थुनिएको आरोप पनि लगाए। दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरेको थियो। प्रवक्ता शाहीले उनीहरूको तत्काल रिहाइको माग गर्दै सरकारलाई अपिल गरे, “सरकारलाई अपिल गर्न चाहन्छु—झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस्।”
राप्रपाले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजीजस्ता मागसहित बल्खुमा आमसभा आयोजना गरेको हो। आमसभामा शाहीले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन हुनुपर्ने माग पनि अघि सारे।