नेपाल फिनटेक फेस्टिभल २०२५ मा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई देशको डिजिटल भुक्तानी प्रणाली निर्माणमा पुर्याएको ऐतिहासिक योगदानका लागि विशेष सम्मान प्रदान गरिएको छ।काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनलाई “टोकन अफ रेस्पेक्ट” प्रदान गर्दै औपचारिक रूपमा कदर गरिएको हो। अधिकारीलाई काठमाडौं फिनटेकका अध्यक्ष सञ्जीव सुब्बा र फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले सम्मान गरेका हुन्।
कार्यक्रममा वक्ताहरूले डिजिटल कारोबारको आधार निर्माणमा अधिकारीको अग्रसरता निर्णायक रहेको बताए। क्यूआर कोड प्रवर्द्धन र जनस्तरसम्म डिजिटल कारोबारको पहुँच विस्तारमा उनको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उनीहरूले उल्लेख गरे।काठमाडौं फिनटेकका अध्यक्ष सुब्बाले भने, “क्यूआर प्रवर्द्धनमा अगाडि सर्ने संसारकै एकमात्र गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ।” नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले भने, “क्यूआर प्रणालीको विस्तार र अन्तरदेशीय कारोबारलाई गभर्नर अधिकारीको कार्यकालले बलियो सहयोग दियो।”
पूर्व गभर्नर अधिकारीले अहिले नेपालको फिनटेक क्षेत्रमा देखिएको तिब्र प्रगतिप्रति खुसी व्यक्त गर्दै डिजिटल प्रविधिको सुरुवाती दिनहरूको सम्झना गरे। उनले भने, “जब यो उद्योग उदाउँदै थियो, त्यतिबेला समाजले माग गरेको, उपयोगी हुने उत्पादनहरू बन्न थालेका थिए। हामीले कानुन र अरु कुरालाई मात्र नहेरेर आफ्नै अनुकूलताको विकासमा ध्यान दिनुपर्ने थियो।”
उनले डिजिटल भुक्तानी प्रणालीको सुरुवातमा सरकारी तहदेखि निजी कम्पनीहरूलाई समेत संलग्न गराउन गरिएको प्रयासबारे स्मरण गर्दै थपे, “मैले डेपुटी गभर्नर हुँदा सार्क पेमेन्ट काउन्सिलमा प्रतिनिधित्व गरेको थिएँ। त्यहाँ भारतका केन्द्रीय बैंक (आरबीआई)का प्रतिनिधिले देखाएका पहलहरू देखेर हामीलाई ईर्ष्या लाग्यो। त्यसपछि हामीले एनसीएचएल सुरु गर्यौं र निजी कम्पनीहरूलाई अपरेटरको रूपमा लाइसेन्स दिन थाल्यौं।”
अधिकारीले कोरोना महामारीको समयलाई डिजिटल कारोबारको ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै भने, “कोभिडपछि सबैले टचलेस, फीललेस प्रविधिको महत्व बुझ्न थाले। त्यही बेला हामीले महसुस गर्यौ, यो प्रविधिलाई अगाडि बढाउने उपयुक्त समय यही हो,” उनले भने। “म यसलाई प्रबर्धन गर्न नक्साल तरकारी बजार गएँ।”
पूर्व गभर्नर अधिकारीले सरकारको भुक्तानी प्रणालीमा समेत ठूलो रुपान्तरण आएको बताए। अधिकारीले वर्तमान फिनटेक इकोसिस्टम निर्माणमा सबैको सहकार्य रहेकाले मात्र यो सम्भव भएको बताए। “सबैको साथ सहयोगले हामीले छोटो समयमै यस्तो प्रविधियुक्त प्रणाली बनाउन सफल भयौं,” उनले भने, “ आज तपाइको खल्तीमा वालेट छैन, यो सबै फिनटेक उद्योगका प्रदर्तकबिना सम्भव हुने थिएन।”उनले साइबर सुरक्षा र तरलता सुनिश्चितता जस्ता पक्षहरूलाई सुदृढ बनाउँदै जानु आवश्यक रहेको उल्लेख गरे।
अन्त्यमा, अधिकारीले फिनटेक इकोसिस्टमका सबैप्रति आभार प्रकट गरे। “म आजको विकासप्रति अत्यन्तै खुसी छु। यस उपलब्धिमा योगदान दिने सबैलाई म सलाम गर्न चाहन्छु,” उनले भने। “नेपाल फिनटेक फेस्टिभल २०८२” युनियनपे को शीर्ष प्रायोजन र नेपाल क्लियरिङ हाउसको प्रमुख साझेदारीमा आयोजना गरिएको हो। कार्यक्रममा नेपालमा फिनटेक प्रणालीको विकास, चुनौती, सम्भावना र अन्तर्राष्ट्रियस्तरमा लैजाने प्रयासबारे विभिन्न सत्रहरूमा विस्तृत छलफल गरिएको छ।


















प्रतिकृया