एक दिनपछि सर्‍यो एफएनसीसीआईको साधारणसभा , अब चैत २९–३० गते हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ६ गते
एक दिनपछि सर्‍यो एफएनसीसीआईको साधारणसभा , अब चैत २९–३० गते हुने

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय साधारणसभा यही चैत २९ र ३० गते हुने भएको छ। बिहीबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले केन्द्रीय तथा प्रदेश महासंघको साधारणसभाको नयाँ मिति तय गरेको हो।

बैठकले सातै प्रदेश महासंघको साधारणसभा चैत २५ गतेभित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ। निर्वाचन आचारसंहिताका कारण यसअघि स्थगित भएका साधारणसभाहरू अब चैतको अन्तिम साता आयोजना गरिने भएका हुन्।

यसअघि २४ माघदेखि २ फागुनसम्म विभिन्न मितिमा प्रदेश साधारणसभा गर्ने तालिका तय गरिएको थियो। तर प्रतिनिधिसभा निर्वाचनका बेला लागू गरिएको निर्वाचन आचारसंहिताका कारण निर्वाचन आयोगबाट अनुमति नपाएपछि कार्यक्रम रोकिएको थियो।

महासंघको विधानअनुसार केन्द्रीय साधारणसभा चैत २८ र २९ गतेभित्र गर्नुपर्ने व्यवस्था भए पनि प्रदेश निर्वाचन ढिलाइ भएपछि यसपटक केन्द्रीय साधारणसभा तथा निर्वाचन एक दिन पछि सारिएको हो।

विधानअनुसार केन्द्रीय साधारणसभाभन्दा कम्तीमा एक महिनाअघि प्रदेश साधारणसभा सम्पन्न हुनुपर्ने र कम्तिमा २१ दिनअघि सूचना जारी गर्नुपर्ने व्यवस्था छ। तर विशेष परिस्थितिलाई ध्यानमा राख्दै कार्यकारिणी समितिले ‘बाधाअड्काउ फुकाउ’ प्रावधान प्रयोग गर्दै प्रदेश साधारणसभाका लागि २१ दिनको सट्टा १५ दिने सूचना दिएर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः महासंघको अध्यक्ष बन्नेछन्। त्यसपछि हुने निर्वाचनमार्फत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू तथा कार्यकारिणी सदस्यहरू चयन गरिने महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स