भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्ना सेयरधनीलाई कुल ११२.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको १३औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
साधारण सभाले गत आर्थिक वर्षको खुद नाफा तथा जगेडा कोषबाट चुक्ता पूँजीको ८०.५३ प्रतिशत नगद लाभांश र ३१.५८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। यसअनुसार सेयरधनीले कर प्रयोजनसहित करिब ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश र १२ करोड रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्।
शतप्रतिशत सेयरधनीको सहभागितामा सम्पन्न साधारण सभा सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षत्रीको अध्यक्षतामा भएको थियो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात र अन्य वित्तीय विवरण पनि पारित गरेको छ।
त्यसैगरी, साधारण सभाले सुवास शर्मा र सौगात केसीलाई सञ्चालक पदमा पुनः निर्वाचित गरेको छ। चालु आर्थिक वर्षका लागि पीकेएफटीआर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
सभामा अध्यक्ष क्षत्रीले कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार र विस्तारमा ध्यान दिने बताए। प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले दीर्घकालीन दृष्टिकोणसहित रणनीतिक रोडम्याप तयार गरी जोखिम व्यवस्थापनमा केन्द्रित भएर अघि बढिरहेको जानकारी दिए।














प्रतिकृया