प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार र मुलुकको स्वाधीनता जोगाउन एमाले पार्टी अग्रपङ्क्तिमा रहेको बताएका छन्। शुक्रबार पोखरामा आयोजित राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिगमनका कुचेष्टाहरूसँग सचेत रहन युवा संघलाई आग्रह गरे।
पूर्व राजा ज्ञानेन्द्र शाहको राजतन्त्र फर्कने भविष्यवाणीप्रति कटाक्ष गर्दै ओलीले भने, “पूर्वराजाको कुण्डली हेरेर मात्रै हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ। मेरो कुण्डली पनि हेरे हुन्छ। जनताले फालेको राजतन्त्र अब फर्कन्न।” उनले यस्ता हल्लामा नलाग्न सबैलाई सचेत गराए।
ओलीले प्रधानमन्त्रीलाई ‘भाग्न हेलिकोप्टरको सुविधा दिनुपर्ने’ भन्ने अभिव्यक्तिलाई हास्यास्पद भन्दै यस्ता प्रतिगमनका प्रयासहरूलाई धूलो पिठो बनाइने चेतावनी पनि दिए। “त्यस्ता प्रयासहरू रोक्न एमाले र युवा संघ अग्रपङ्क्तिमा उभिनुपर्छ,” उनले भने।
उनले एमालेमाथि बाह्य तथा आन्तरिक शक्तिबाट चौतर्फी आक्रमण भइरहेको जिकिर गर्दै पार्टीको सही नीति, सुशासन र विकासको मार्गप्रति दृढ रहेको बताए। “एमालेले गल्ती गरेको भए हामी आजको अवस्थामा पुग्न सक्ने थिएनौँ,” उनले प्रस्ट पारे।
राजनीति नगरेका व्यक्तिहरूको हातमा सत्ता जाँदा मुलुकमा अस्थिरता आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब १४ महिनापछि सत्ता कांग्रेसलाई हस्तान्तरण गरेर निर्वाचन गराउने योजना सुनाए। “सरकार ढल्यो भनेर कराउनेहरूलाई म स्पष्ट पार्न चाहन्छु, हामी प्रतिवद्ध छौं– स्थिरता र निर्वाचन दुबै सुनिश्चित गर्न,” उनले भने।
भ्रष्टाचारविरुद्ध सरकार ‘शून्य सहनशीलता’ नीति अनुरूप अघि बढिरहेको दाबी गर्दै ओलीले सबैलाई अनुशासित, जिम्मेवार र देशभक्त बन्न आग्रह गरे। महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिंदै उनले भने, “नेतृत्वमा नअटाएका सबैको व्यवस्थापन हुनेछ, लुँछाचुँडी नगर्नुहोस्।”
उक्त कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, नेताहरू महेश बस्नेत, भानुभक्त ढकाल, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायतको उपस्थिति थियो।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया