डेपुटी गभर्नर किरण पण्डितको काठमाडौंमा दुई घर, बैंक तथा जलविद्युत् क्षेत्रमा ६,५०० कित्ता बढी सेयर

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १० गते
डेपुटी गभर्नर किरण पण्डितको काठमाडौंमा दुई घर, बैंक तथा जलविद्युत् क्षेत्रमा ६,५०० कित्ता बढी सेयर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

घर जग्गा

विवरणअनुसार काठमाडौंको टोखामा श्रीमती कामना शर्मा पण्डितको नाममा २ करोड २० लाख रुपैयाँमा खरिद गरिएको १,६३० वर्गफिटको घर रहेको छ।

त्यसैगरी, काठमाडौंको सामाखुसीमा आमा गौरी पण्डितको नाममा करिब साढे दुईतले पैतृक घर रहेको छ। काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ५ आना ३ पैसा जग्गा समेत रहेको विवरणमा उल्लेख छ।

पण्डितको नाममा कैलालीको धनगढीमा १० लाखमा खरिद गरिएको जग्गा रहेको छ भने रुपन्देहीमा भाइ बुहारी अनिता गौतमसँग संयुक्त रूपमा ४० लाखमा खरिद गरिएको जग्गामा ५० प्रतिशत हिस्सा रहेको जनाइएको छ। त्यस्तै तनहुँमा बुबाको नाममा ११ रोपनीभन्दा बढी पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ।

बैंक मौज्दात २ करोडभन्दा बढी

उनको बैंक खातामा २ करोडभन्दा बढी मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकको खातामा १ करोड १ लाख रुपैयाँ र अर्को वाणिज्य बैंकमा १ करोड ११ लाख ८ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ। साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा विदेशी मुद्रा मौज्दात समेत रहेको छ।

श्रीमतीको नाममा समेत करिब ५७ लाख ३६ हजार रुपैयाँ र ३३ हजार ५७९ अमेरिकी डलर बचत रहेको छ। छोरा र छोरीका नाममा पनि बैंक बचत रहेको विवरणमा उल्लेख गरिएको छ।

सुन–चाँदी र हीरामा लगानी

पण्डित परिवारसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ मूल्य बराबरको हीराको गरगहना रहेको छ। यी सम्पत्ति दाइजो, उपहार तथा निजी आर्जनबाट प्राप्त भएको जनाइएको छ।

५,७०० भन्दा बढी कित्ता सेयर

उनको नाममा बैंक, जलविद्युत र बीमा क्षेत्रमा गरी ५ हजार ७०० भन्दा बढी कित्ता सेयर लगानी रहेको छ। यसमध्ये बैंक तथा वित्तीय संस्थामा २,९४८ कित्ता, जलविद्युतमा ३,६०६ कित्ता र बीमा कम्पनीमा ३६ कित्ता सेयर रहेको छ।

परिवारका सदस्यहरूको नाममा समेत सेयर लगानी रहेको छ।

सवारी साधन र ऋण

पण्डितसँग एक मोटरसाइकल रहेको छ भने श्रीमतीको नाममा दुई मोटरसाइकल र २४ लाख रुपैयाँ मूल्यको महिन्द्राको विद्युतीय गाडी रहेको छ।

ऋणतर्फ नेपाल राष्ट्र बैंकबाट २ करोड ३० लाख रुपैयाँभन्दा बढी ऋण लिएकोमा करिब १ करोड २१ लाख रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ। साथै सिटिजन्स बैंकबाट लिएको ऋण भने पूर्ण रूपमा भुक्तानी गरिसकिएको विवरणमा जनाइएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स