तनहुँको देवघाट गाउँपालिकामा कार्यरत कर्मचारी होमबहादुर भारतीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
भारतीले एसएलसी तहको नक्कली प्रमाणपत्र पेश गरी गाउँपालिकामा सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक जस्ता पदमा काम गरेका थिए। उनले प्रथम श्रेणीमा उत्तीर्ण भएको झुठा दाबी गर्दै राष्ट्रसेवकको ओहदा, हैसियत र सरकारी सेवा–सुविधा लिएका थिए।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, गैरकानुनी लाभ लिन नक्कली प्रमाणपत्र पेस गरी काम गरेको पुष्टि भएपछि भारतीमाथि कानुनी कारबाही अघि बढाइएको हो।
भारतीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरिएको छ।


प्रतिकृया