चिरफार एक्स्प्लेनर: प्रोमोटर समूहको भएर पनि साधारण सेयर सरह कारोबार हुने HIDCLP को रोचक प्रसङ्ग[भिडियो]



Advertisement
Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अन्तर्गत एचआईडीसीएल (HIDCL) र एचआईडीसीएलपी (HIDCLP) गरी दुई फरक सिम्बोलमा कारोबार हुने गरेको छ। एचआईडीसीएल (HIDCL) सर्वसाधारण समूह तर्फ सूचिकृत सेयर हो भने एचआईडीसीएलपी (HIDCLP) प्रोमोटर समूहको हो। नेप्सेमा सूचिकृत प्रोमोटर समूह तर्फका केहि मात्रै यस्ता कम्पनीहरु छन् जसको कारोबार दोश्रो बजारमा टिएमएस मार्फत साधारण सेयर सरह नै हुने गर्दछ। RBCLPO , NIMBP0 , HEIP र HIDCLP मात्रै यस्ता कम्पनीहरु हुन् जुन संस्थापक समूहमा भए तापनि साधारण सेयर सरह नै कारोबार हुने गर्दछन। पछिल्लो समय एचआईडिसीएलपी प्रति लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ। यो सेयर टिएमएस मार्फत अन्य सेयर जसरी नै कारोबार गर्न सकिन्छ। यदि तपाईंको टिएमएस बाट एचआईडीसीएलपी (HIDCLP) को कारोबार गर्न मिलिरहेको छैन भने तपाईंले ब्रोकरलाई फोन गरेर कारोबार गर्न मिल्ने बनाउन सक्नुहुन्छ।

२०६८ सालमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका नाममा दर्ता भएको यो कम्पनी छैठौं साधारण सभाको निर्णय अनुसार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडमा परिणत भयो। जलविद्युत तथा नवीकरणीय उर्जाका क्षेत्रमा सेयर लगानी र ऋण लगानी गर्ने मूख्य उद्धेश्यले स्थापित यो कम्पनीमा नेपाल सरकारको सबैभन्दा ठूलो लगानी रहेको छ। कम्पनीका संस्थापकहरुलाई क(१) र क(२) गरी दुई भागमा छुट्याईएको छ। कम्पनी स्थापना हुँदाको बखत यसको पूँजी १० अर्ब रुपैयाँ थियो। १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड कित्ता सेयर मध्ये ५ करोड कित्ता सेयर नेपाल सरकारले खरिद गरेको थियो। नेपाल सरकार अर्थ मन्त्रालयले २ करोड कित्ता, उर्जा मन्त्रालयले १ करोड कित्ता, कानून मन्त्रालयले १ करोड कित्ता र महालेखा नियन्त्रकको कार्यालयले १ करोड कित्ता गरि नेपाल सरकारले प्रत्यक्ष रुपमा ५ करोड कित्ता सेयर धारण गरेको थियो। नेपाल सरकारका मन्त्रालयहरुका नाममा रहेको संस्थापक सेयरलाई क(१) समूह अन्तर्गत राखियो।


Advertisement

त्यस्तै कर्मचारी संचय कोषले १ करोड कित्ता, राष्ट्रिय विमा संस्थानले १ करोड कित्ता र नागरिक लगानी कोषले १ करोड कित्ता संस्थापक सेयर खरिद गरे। यिनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयरलाई क(२) समूहमा राखियो।

२ अर्ब रकम बराबरको २ करोड कित्ता साधारण सेयर जारी गरियो। जसमध्ये कम्पनीका कर्मचारीहरुलाई ४ लाख कित्ता र म्युचुअल फन्डहरुलाई १० लाख कित्ता छुट्याएर बाँकी रहेको १ करोड ८६ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भयो।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १०% बोनस सेयर जारी गर्यो। बोनस सेयर पछि कम्पनीको पूँजी ११ अर्ब पुग्यो। १० करोड कित्ता बढेर ११ करोड पुग्यो।

त्यसपछि कम्पनीले १००% हकप्रद जारी गर्ने निर्णय गर्यो।

नेपाल सरकारका मन्त्रालयहरुका नाममा रहेको ५ करोड कित्ता सेयर १०% बोनस पछि ५ करोड ५० लाख कित्ता भएको थियो। हकप्रदका लागि मन्त्रालयहरुले ५ अर्ब ५० करोड छुट्याए। तर क(२) समूहमा रहेका संस्थापकहरुले चाहिँ हकप्रद भरेनन। सुरुमा क (२) समूहको ३ करोड कित्ता सेयर थियो, १०% बोनस पछि ३ करोड ३० लाख कित्ता पुग्यो। उनीहरुले हकप्रद नभरेपछि कम्पनीले ती कित्ताहरु लिलामी मार्फत सर्वसाधारणलाई बिक्रि गर्ने निर्णय गर्यो।

२०७८ अशोज ०७ गतेदेखि आह्वान गरिएको बोलपत्रमा हकप्रदमा नबिकेका साधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता बिक्रिमा राखिएको थियो। बोल लगाउने न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो। साधारण तर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्थ्यो भने संस्थापक तर्फ चाहिँ कम्पनीको नियमावलीको नियम १० मा व्यवस्था भए अनुसार कम्तिमा १ करोड कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरियो। लिलामी मार्फत सर्वसाधारण तर्फको सबै कित्ताहरु बिक्रि भयो तर संस्थापक तर्फको सेयर बिक्रि हुन सकेन।

कम्पनीले नियमावलीमा संशोधन गर्दै २०७८ फागुन १ गते बिक्रि नभएका संस्थापक तर्फका सेयरहरु न्यूनतम १०० कित्ताका लागि आवेदन दिन पाउने गरी लिलामी मार्फत बिक्रिमा ल्यायो तर सबै कित्ता बिक्रि गर्न नसकेपछि नेप्सेमा सूचिकृत भईसकेपछि दोश्रो बजारमा साधारण सेयर सरह नै कारोबार गर्न सकिने व्यवस्था गर्दै पछि फेरी बोलपत्र आह्वान गर्यो। पटक पटकको प्रयासपछि मात्रै कम्पनीले ३ करोड ३० लाख कित्ता सेयर बिक्रि गर्न सकेको थियो।

अहिले एचआईडीसीएल दोश्रो बजारमा प्रति कित्ता ३१९ रुपैयाँमा कारोबार भएको देखिन्छ भने एचआईडिसीएलपी २२४ रुपैयाँमा। कम्पनीले दिने प्रतिफल तथा अन्य कुराहरुमा समान अधिकार हुने र टिएमएस बाट पनि सजिलै कारोबार हुने तर मूल्य भने धेरै नै कम रहेकाले लगानीकर्ताहरु प्रोमोटर सेयरतर्फ आकर्षित भएको विश्लेषकहरु बताउँछन्। त्यस्तै एचआईडिसीएल अन्तर्गत कारोबार योग्य कित्ता ४ करोड ५५ लाख ५१ हजार ५९८ रहेको र एचआईडीसीएलपी अन्तर्गत ३ करोड ३० लाख कित्ता मात्रै रहेकाले पनि सप्लाईको दृष्टिकोणबाट पनि यो कम्पनी लगानीकर्ताहरुको रोजाईमा परेको हुनसक्ने देखिन्छ।

कस्तो छ कम्पनी ?
कम्पनीले प्रकाशित गरेको दोश्रो त्रैमासको तथ्याङ्क अनुसार कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ २५ पैसा रहेको छ भने बुक भ्यालु ११४ रुपैयाँ छ। कम्पनीले नियमित रुपमा लगानीकर्ताहरुलाई लाभांश दिने गरेको छ। कम्पनीले थुप्रै जलविद्युत आयोजना तथा सो सम्बन्धित कम्पनीहरुमा सेयर तथा ऋण लगानी गरेको छ। कम्पनीले हालसम्म २५ कम्पनीहरुमा ४७५९ करोड रुपैयाँ भन्दा धेरै ऋण लगानीको प्रतिवद्दता गरिसकेको छ भने ९ कम्पनीहरुमा ५३३ करोड रुपैंया बराबरको सेयर लगानी गर्ने भएको छ। अहिले नेप्सेमा सूचिकृत भएर प्रति सेयर ६३४ रुपैयाँमा कारोबार भईरहेको भिजन लुम्बिनी हाइड्रोपावरको प्रमोटर सेयरमा पनि एचआईडिसीएलले २० करोड लगानी गर्दै २० लाख कित्ताको स्वामित्व लिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर