ग्यास अभाव रोक्न १ करोड ७५ लाख सिलिन्डर डिजिटल ट्र्याकिङमा ल्याउन सभापति अन्सारीको निर्देशन

ग्यास अभाव रोक्न १ करोड ७५ लाख सिलिन्डर डिजिटल ट्र्याकिङमा ल्याउन सभापति अन्सारीको निर्देशन
Advertisement Ads

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्। मंगलबार बसेको समितिको बैठकमा उनले प्रत्येक सिलिन्डरमा बारकोड वा क्यूआर कोड राखी डिजिटल प्रणालीमार्फत ट्र्याकिङ गर्न तथा नेपाल विद्युत प्राधिकरणको घरधुरी विवरणसँग जोडेर कुन सिलिन्डर कहाँ, कुन कम्पनीको र कसको प्रयोगमा छ भन्ने विवरण राज्यसँग हुनुपर्ने बताए।

१७ दिनअघि सिलिन्डर म्यापिङको निर्देशन दिइए पनि कार्यान्वयनमा प्रगति नभएको भन्दै उनले आयल निगमको नेतृत्वलाई ढिलासुस्ती नगर्न चेतावनी दिए। समितिको गतिसँग तालमेल गर्न नसके जिम्मेवारीबाट अलग हुनुपर्ने उल्लेख गर्दै उनले जनताको दबाबका कारण काममा ढिलाइ स्वीकार्य नहुने बताए। ३० दिनभित्र कोड नभएका सिलिन्डर साटफेर रोक्ने व्यवस्था गरिए बजारमा लुकाइएका सिलिन्डर स्वतः बाहिर आउने उनको भनाइ थियो।

सभापति अन्सारीले ग्यासको समान मूल्य नीति पुनरावलोकन गर्न पनि सरकारलाई आग्रह गरे। हाल १४.२ केजीका घरेलु सिलिन्डर पाँचतारे होटल, ठूला उद्योग तथा व्यावसायिक प्रतिष्ठानले समेत प्रयोग गरिरहेका कारण सरकारले ठूलो अनुदानको भार व्यहोर्नुपरेको उनले बताए। व्यावसायिक प्रयोगका लागि ५०, १०० र ४५० केजी क्षमताका सिलिन्डर तथा विद्यार्थी, डेरावासी र न्यून खपत हुने उपभोक्ताका लागि ५ केजीका साना सिलिन्डर उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।

उनले प्रत्येक सिलिन्डरमा सरकारले करिब ९३८ रुपैयाँ घाटा व्यहोर्दै आएको र मासिक करिब ७ लाख सिलिन्डर व्यावसायिक क्षेत्रमा प्रयोग हुँदा झण्डै ६५ करोड रुपैयाँ अनुदान त्यही क्षेत्रमा खर्च भइरहेको उल्लेख गरे। वार्षिक रूपमा यो रकम अर्बौँ रुपैयाँ पुग्ने भएकाले अनुदान वास्तविक घरेलु उपभोक्तामै केन्द्रित गर्न, पाँचतारे होटल र ठूला उद्योगलाई बजार मूल्यमा ग्यास उपलब्ध गराउन तथा दुर्गम क्षेत्र, विद्यार्थी र निम्न आय भएका उपभोक्ताका लागि लक्षित सहुलियत नीति लागू गर्न उनले सरकारलाई आग्रह गरे।

ग्यास उत्पादक संघलाई पनि प्रविधिमैत्री र नवप्रवर्तनमुखी समाधानमा नेपाल आयल निगमसँग सहकार्य गर्न आग्रह गर्दै अन्सारीले ग्यास सिलिन्डर म्यापिङ र व्यावसायिक सिलिन्डर प्रणाली लागू भए हाल देखिएको ग्यास अभाव, कृत्रिम मौज्दात र अनुदान दुरुपयोगको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स