ब्रोकरका सीईओले सुनाए सेयर बजारको नालीबेली: कस्ताले कमाउँछन्, कस्ताले गुमाउँछन् ? [भिडियोसहित]

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १४ गते

बजारको चिरफार प्रिमियम पोडकास्टमा सीए तथा सिटिजन सेयर ब्रोकर (ब्रोकर नं. ९१) का सीईओ मनिष अर्यालसँग नेपालको सेयर बजारको वर्तमान अवस्था, लगानीकर्ताको मनोविज्ञान, मार्जिन ल्यान्डिङ, ट्रेडिङका गल्तीहरू र आगामी बजार सम्भावनाबारे विस्तृत छलफल गरिएको छ। उनका अनुसार हालको बजारलाई पूर्ण रूपमा बियरिस भन्न सकिने अवस्था छैन, बरु बजार साइडवेज जोनमा रहेको छ जहाँ ठूला गिरावटका लागि ठोस आधार पनि छैन र ठूलो बुल रनका लागि तत्काल नयाँ ट्रिगर पनि देखिँदैन। पछिल्ला राजनीतिक तथा आर्थिक घटनाक्रम, विभिन्न अनुसन्धान र पक्राउसम्बन्धी समाचारहरूले बजारमा अल्पकालीन प्रभाव पारे पनि बजारले ती समाचारलाई क्रमशः आत्मसात् गरिसकेको उनले बताए।

मार्जिन ल्यान्डिङबारे बोल्दै उनले यसलाई सेयर बजारको संरचनात्मक सुधारका रूपमा हेर्नुपर्ने बताए। उनका अनुसार सही नियमन र स्पष्ट नीति बनेमा मार्जिन ल्यान्डिङले बजारमा लिक्विडिटी बढाउने, साना लगानीकर्तालाई अवसर दिने र ट्रेडिङलाई सहज बनाउने काम गर्छ। तर यसको गलत प्रयोग भएमा ओभरट्रेडिङ, अत्यधिक जोखिम र अनुभवहीन लगानीकर्तामा ठूलो घाटा पनि निम्तिन सक्छ। त्यसैले यसलाई अवसर र जोखिम दुवैका रूपमा बुझ्नुपर्ने उनको धारणा छ।

ट्रेडरहरूले गरेका प्रमुख गल्तीहरूबारे कुरा गर्दै उनले धेरैजसो लगानीकर्ताले लिमिटलाई मात्र आधार बनाएर निर्णय गर्ने, स्टप–लस प्रयोग नगर्ने, घाटालाई एभरेजिङ गरेर झन् बढाउने र इमोशनल निर्णय गर्ने गरेको बताए। यसले गर्दा धेरै ट्रेडरहरूले अपेक्षित नाफा लिन नसकेको उनको भनाइ छ। उनका अनुसार सफल ट्रेडिङका लागि समय (टाइमिङ), अनुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण पक्ष हुन्।

हाइड्रोपावर सेक्टरको बढ्दो आकर्षणबारे उनले हालको बजारमा लिक्विडिटी बढी हुनु, ब्याजदर घट्नु र दीर्घकालीन ग्रोथ अपेक्षाले गर्दा हाइड्रोमा ठूलो भोलुम आएको बताए। तर उनले सबै हाइड्रो कम्पनीलाई एउटै दृष्टिले हेर्न नहुने भन्दै तिनलाई प्रोजेक्ट संरचना र भविष्य योजनाका आधारमा छुट्याएर विश्लेषण गर्नुपर्ने सुझाव दिए। केही कम्पनी दीर्घकालीन रूपमा बलिया भए पनि केही कम्पनी उच्च जोखिमयुक्त रहेको उनको विश्लेषण छ।

ब्याजदर र बजार साइकलबारे उनले सेयर बजारको मुख्य ड्राइभर नै ब्याजदर रहेको बताए। ब्याजदर घट्दा बजारमा बुलिश ट्रेन्ड आउने र बढ्दा बजारमा दबाब सिर्जना हुने भए पनि यो प्रक्रिया क्रमशः हुने भएकाले तत्कालै ठूलो परिवर्तन नदेखिने उनको भनाइ छ। अन्त्यमा उनले लगानीकर्तालाई इमोशनमा होइन, तथ्य र विश्लेषणमा आधारित भएर निर्णय लिन, स्टप–लस अनिवार्य गर्न, र सही समयमा मात्र लिभरेज प्रयोग गर्न सुझाव दिएका छन्। उनका अनुसार सेयर बजारमा सफल हुन अनुशासन, समयको सही पहिचान र जोखिम बुझ्ने क्षमता सबैभन्दा महत्वपूर्ण आधार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स