विभिन्न बैंक वित्तिय संस्थाहरुले नेपाल रि इन्स्योरेन्सको सेयर धितोमा राखेर ऋण नदिने भएका छन्। जेनजी आन्दोलनका क्रममा भएको क्षती पश्चात पुनर्बिमा कम्पनीमा ठूलो रकमको दाबी परेको र त्यसले कम्पनीको अवस्था कस्तो हुने भन्ने निश्चितता नभएकाले नेपाल रि लाई मार्जिन कर्जाको सूचीबाट हटाईएको हो।
ग्लोबल आईएमई बैंकले नेपाल रि लाई ईलिजिबिलिटी लिस्टबाट हटाएको छ। कर्जा शाखाका अधिकारीका अनुसार समयमै वित्तिय विवरण प्रकाशित नगर्ने कम्पनीको सूचीमा परेकाले नेपाल रि इन ईलिजिबल लिस्टमा परेको हो। बीमा दाबी अर्को फ्याक्टर रहेको उनको भनाई छ।
कुमारी बैंकले त नेपाल पुनर्बिमा कम्पनीको सेयर धितो राखेर नयाँ कर्जा प्रवाह नगर्ने निर्णय नै गरेको छ। बैंकको एसेट लायविलिटी कमिटिले सो निर्णय गरेको बैंकका एक उच्च अधिकारीले बताए। नयाँ कर्जा प्रवाह नगर्ने निर्णय भएको तर कर्जा उपभोग गरिरहेका ग्राहकलाई नवीकरण गर्न कुनै समस्या नपर्ने उनले बताए।
अधिकांश बैंक वित्तिय संस्थाका अधिकारीहरुले नेपाल रिको वित्तीय अवस्था कस्तो हुने भन्ने आँकलन गर्न गाह्रो परिरहेको र मूल्य पनि अलि माथि नै रहेका कारण कर्जा प्रवाह गर्नु जोखिमपूर्ण हुने आशय व्यक्त गरेका छन्। कुमारी बैंकले संस्थागत निर्णय नै गरिसकेकाले अन्य बैंकहरुले पनि पुनर्बिमा कम्पनी धितोमा राखेर कर्जा प्रवाह नगर्न सक्ने नबिल बैंकका एक उच्च अधिकारीले बजारको चिरफारलाई बताए।



















प्रतिकृया