साढे ४ प्रतिशत आर्थिक वृद्धि हुने एसियाली विकास बैंकको अनुमान
एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। एडीबीले आफ्नो ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै यस वर्षको लागि नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने अनुमान गरेको हो। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो।
एसियाली क्षेत्रको आर्थिक वृद्धिका बारेमा एडीबीले ४.९ प्रतिशतको प्रक्षेपण गरेको छ र आगामी वर्ष २०२६ मा यस क्षेत्रको वृद्धि ४.७ प्रतिशतसम्म घट्न सक्ने पनि अनुमान गरिएको छ। अमेरिकाले नयाँ भन्सार दर लागू गर्दा, यसले विश्वव्यापी व्यापारिक अनिश्चितता उत्पन्न गर्ने र एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धिमा असर पुर्याउने एडीबीले जनाएको छ।नेपालको आर्थिक वृद्धिमा विभिन्न चुनौतिहरू रहेको छ। व्यापारिक अनिश्चितता र अमेरिकी नीतिगत परिवर्तनले नेपालको आर्थिक वृद्धिमा असर पुर्याउने आशंका व्यक्त गरिएको छ। अमेरिकी भन्सार शुल्क र व्यापार युद्धका कारण नेपालसँगको व्यापारिक सम्बन्धमा असर पर्ने संभावना छ।
एडीबीका अनुसार सन् २०२५ मा नेपालमा मुद्रास्फीति ५.२ प्रतिशत र सन् २०२६ मा ५ प्रतिशत रहने अनुमान गरिएको छ। तर, एडीबीले उत्पादनमूलक क्षेत्र र निर्माण क्षेत्रमा वृद्धि हुने प्रक्षेपण पनि गरेको छ। निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ र उत्पादनमूलक उद्योगमा कर्जा प्रवाह पनि बढ्न सक्ने संभावना रहेको एडीबीकाले जनाएको छ। यस वर्ष नेपालका ऊर्जा क्षेत्रले ठूलो योगदान पुर्याउने प्रक्षेपण गरिएको छ, जसले विद्युत उत्पादनमा ९०० मेगावाट वृद्धि गर्ने अनुमान छ।पर्यटन क्षेत्रको वृद्धि र व्यापार तथा पारवहन क्षेत्रमा सकारात्मक प्रभावले सेवा क्षेत्रमा वृद्धि हुने प्रक्षेपण गरिएको छ। कानूनी परिवर्तनले लगानी बढ्न र सेवा क्षेत्रको वृद्धिमा योगदान पुर्याउने एडीबीको भनाइ छ।