विद्यालय शिक्षा विधेयक तोकिएको मितिभित्र संसद्बाट पारित नभएपछि शिक्षकहरूमा सशंका र असन्तोष बढेको छ। नेपाल शिक्षक महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।
महासंघले भनेको छ, “सरकारले प्रतिबद्धता जनाएअनुसार २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस भएको छैन। यसले आम शिक्षक–कर्मचारीहरूमा सशंका र आक्रोश पैदा गराएको छ।”
महासंघले विगतमा शिक्षकहरूसँग भएका सहमतिहरूलाई समेटेर विधेयक तत्काल प्रतिनिधिसभामा पेस गरी पारित गर्न आग्रह गरेको छ। अहिले उक्त विधेयक संसद्को शिक्षा समितिमा छलफलरत छ।
विज्ञप्तिमा महासंघले कुनै षड्यन्त्र भए तत्काल आन्दोलनमा जानुपर्ने अवस्था आउने चेतावनीसमेत दिएको छ। “यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई छैन। यदि कुनै पनि प्रकारको विलम्ब वा षड्यन्त्र भयो भने महासंघ बाध्य भएर आन्दोलनमा उत्रिनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै महासंघले यस्तो परिस्थितिको सिर्जना हुन नदिन सबै सरोकारवालाहरूलाई सक्रिय र गम्भीर हुन आग्रह गरेको छ।
सरकार र महासंघबीच गत वैशाख १७ गते विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सहमति भएको थियो।



















प्रतिकृया