९ कम्पनीहरु हकप्रद पाइपलाईनको अन्तिम चरणमा; कहिले पाउँदैछन् अनुमति ?
हाल ९ कम्पनीहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर जारी गर्न अन्तिम स्वीकृतिको पर्खाइमा छन्। तीमध्ये अधिकांश जलविद्युत् क्षेत्रका कम्पनीहरू छन् भने एउटा जीवन बीमा कम्पनी पनि हकप्रद सेयर स्वीकृतिको प्रतीक्षामा छ। यी कम्पनीहरूले कुल ५ करोड ४४ लाख १२ हजार २२ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन्, जसको कुल रकम करिब ५ अर्ब ४४ करोड रुपैयाँ बराबर हुनेछ।
छ्याङ्दी लिमिटेडले १:१ अनुपातमा ३८ करोड ६९ लाख रुपैयाँ बराबरको कुल ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर जारी गर्ने प्रस्ताव गरेको छ। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पनि १:१ अनुपातमा ५३ लाख ६८ हजार १५० कित्ता सेयर जारी गरी ५३ करोड ५८ लाख रुपैयाँ उठाउने योजना बनाएको छ।
यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १:०.६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता सेयर जारी गरी २४ करोड १४ लाख रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता सेयर जारी गरी ६१ करोड २७ लाख रुपैयाँ उठाउने प्रस्ताव गरेको छ।
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर जारी गरी १ अर्ब ५ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पनि १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर जारी गरी ४६ करोड ५७ लाख रुपैयाँ उठाउनेछ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले १:१ अनुपातमा ४० लाख कित्ता सेयर जारी गरी ४० करोड रुपैयाँ संकलन गर्नेछ। यस्तै, पिपुल्स पावर लिमिटेडले १:०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता सेयर जारी गरी ३१ करोड ६३ लाख रुपैयाँ उठाउने योजना बनाएको छ।
एकमात्र बीमा क्षेत्रको कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १:०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता सेयर जारी गरी १ अर्ब ४३ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।
कहिले पाउँदैछन् यी कम्पनीहरुले हकप्रद निष्काशनको अनुमति ?
नेपाल धितोपत्र बोर्डले यी ९ कम्पनीहरुलाई हकप्रद जारी गर्न स्वीकृति दिने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार आगामी साता केहि कम्पनीहरुले अनुमति पाउने सम्भावना छ। बोर्डका प्रवक्ता निरंजय घिमिरेका अनुसार सबै प्रकृया र कागजपत्रहरु पुगेका कम्पनीहरुले हकप्रद जारी गर्ने अनुमति पाउँदै जानेछन्। ‘मिति नै त तोक्न सकिन्न तर प्रकृया पुगेका कम्पनीहरुले छिट्टै अनुमति पाउनेछन्’, घिमिरे बताउँछन्। बोर्डले केहि समयअघि एनएलजी इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लगायतका कम्पनीहरुलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।