२०२४ को अन्तिम सातामा चार विभिन्न देशमा भएका हवाई दुर्घटनाले विश्वलाई स्तब्ध पारेको छ। दुई ठूला विमान दुर्घटनामा मात्र २१७ जनाले ज्यान गुमाएका छन्।
अजरबैजान एयरलाइन्स फ्लाइट ८४३२
डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको फ्लाइट ८४३२ बाकुबाट ग्रोज्नी जाँदै थियो। बाक्लो कुहिरोका कारण दुईपटक अवतरणको प्रयास असफल भएपछि तेस्रो प्रयासमा विमान दुर्घटनाग्रस्त भयो। यस घटनामा ३८ जनाको ज्यान गएको छ भने २९ जना यात्रुको सफल उद्धार गरिएको छ।
जेजु एयर फ्लाइट २२१६
त्यसैगरी, डिसेम्बर २९ मा दक्षिण कोरियाको जेजु एयर फ्लाइट २२१६ मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा पर्यो। प्रारम्भिक अनुसन्धान अनुसार, बोइङ ७३७-८०० विमानको ल्यान्डिङ गियरमा समस्या आउँदा उच्च गतिको कारण रनवेमा विमान विस्फोट भएको हो। दुर्घटनामा १७९ जना यात्रुको मृत्यु भयो भने दुई जना चालक दलका सदस्य मात्र बाँच्न सफल भए। जेजु एयरका नेतृत्वले प्रेस ब्रिफिङमा माफी माग्दै दुर्घटनाको सम्पूर्ण जिम्मेवारी लिन तयार भएको बतायका छन्।
यसैबीच, यस साता अन्य दुई जहाज पनि दुर्घटनामा परे। नर्वेमा केएलएम रोयल डच एयरलाइन्सको फ्लाइट १२०४ अवतरणका क्रममा रनवेबाट चिप्लिएको थियो। विमानमा १७६ जना यात्रु सवार थिए र सबै सुरक्षित रहेको पुष्टि गरिएको छ। प्रारम्भिक रिपोर्ट अनुसार, हाइड्रोलिक प्रणालीमा समस्या देखा परेकोले यो घटना भएको हो।
यस्तै क्यानडामा एयर क्यानडा-पिएएल एयरलाइन्स फ्लाइट २२५९ विमानको ल्यान्डिङ गियर नखुलेपछि आपतकालीन अवतरण गराइएको थियो। अवतरणपछि विमान रनवेमा चिप्लिएर आगलागी भए पनि विमानमा रहेका सबै यात्रु सुरक्षित रहेका छन्।















प्रतिकृया