नेपाल राष्ट्र बैंकले नयाँ सिरिजको १० रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने भएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार आज (असार २) गतेदेखि साविककै आकार र रङ्गमा नयाँ नोट चलनमा आउनेछ।
राष्ट्र बैंकले जनाएअनुसार सङ्केत नं. द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्मका नोटहरूमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्य उल्लेख गरिएको छ।
नोटको अगाडिको भागमा बायाँपट्टि सगरमाथाको चित्र, दायाँपट्टि लालीगुराँसको पानी छाप, र गभर्नरको हस्ताक्षरको स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत हुनेछ। त्यस्तै, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं. २०८१” लेखिएको छ।
पृष्ठ भागमा मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा “Nepal Rastra Bank”, बीचमा कृष्णसारको चित्र, र तल्लो भागमा अंग्रेजीमा “Rupees Ten” लेखिएको छ। नोटको सिरिज नम्बर अंग्रेजीमा “2024 AD” उल्लेख गरिएको छ।
यसअघि, मंसिर १० गते, २०७७ मा राष्ट्र बैंकले संकेत नं. ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्मका नोट चलनमा ल्याउने घोषणा गरे पनि हालसम्म ढ/८२ ०००००१ देखि द/३१ ८००००० सम्मका मात्र नोटहरू चलनमा ल्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ।


प्रतिकृया