नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि लागेका आरोपका विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले आफूले निष्ठा र नैतिकताको राजनीतिक गर्ने भएकाले सहकारी ठगीको आरोपबारे छानबिन गर्न सभामुख र गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।
उनले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिलक्षित गर्दै आफू सहकारी ठगीमा जोडिए पनि सूचना लुकाउन गृहमन्त्री पदमा नरहेको भन्दै तत्काल छानबिन गर्न माग गरे । ‘संसदीय छानबिन समिति बनाउने हो भने पनि म तयार छु । मेरा लागि यो सूवर्ण अवसर हुनेछ’ उनले भने ‘तथापि म प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवारी पदमा छैन।’
मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्वश्रीमती ज्योती गुरुङसँग आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको उनले बताए । उपसभापति गुरुङले व्यापार व्यवसायमा श्रीमान्-श्रीमतीमा एउटा जोडिँदा अर्कोलाई जोडेर हेरिने सामान्य रहेको उनले बताए । ‘पूर्वश्रीमतीलाई जोड्न व्यवहारिक कानुनी र नैतिक दृष्टिले मिल्दैन भन्ने हेक्का राखिनुपर्छ । विवाह गर्नु अपराध होइन । मिल्न नसक्दा डिभोर्स गर्नु पनि अपराध होइन,’ उनले भने ।
नेल्सन मण्डेलाको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र बिनी मण्डेलाका मुद्दाहरू आए पनि नेल्सन मण्डेलामाथि प्रश्न नआएको उनले बताए । उनले सहकारीको प्रबन्ध निर्देशक ज्योतीसँग २९ फागुन २०७६ मा गरेको सम्बन्ध विच्छेद नक्कर्ली प्रमाणित गर्न पनि चुनौती दिए । उनले आफू प्रमाण लुकाउने जिम्मेवार पदमा (गृहमन्त्री) नरहेको र संसदीय छानबिन गर्नुपर्छ भने पनि तयार रहेको बताए ।



















प्रतिकृया