नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज पनि ३० अर्ब रुपैयाँ तान्ने योजना बनाएको छ। बुधबार, केन्द्रीय बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत यो रकम प्रशोचन गर्ने भएको हो।
चार दिनअघि मात्र, आइतबार, केन्द्रीय बैंकले यस्तै ३० अर्ब रुपैयाँ तरलता तानेको थियो।
बैंक तथा वित्तीय संस्थाहरु हाल निक्षेपको अत्यधिक जमावट भए पनि कर्जाको माग कमजोर हुँदा तरलता व्यवस्थापनमा हैरान छन्। यसैकारण, केन्द्रीय बैंकले निरन्तर रुपमा निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गरिरहेको छ।
तथ्यांक अनुसार, असोज ३ गतेसम्म बैंकहरुले ६५ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरे पनि ५२ खर्ब २४ अर्ब रुपैयाँ मात्र कर्जामा लगानी गर्न सकेका छन्।
हाल बैंकहरुको औसत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ७८.७८ प्रतिशत रहेको छ, जसले करिब ७ खर्ब रुपैयाँ तरलता रहेको देखाउँछ। तर, कर्जाको माग नभएका कारण केन्द्रीय बैंकले पुन: १४ दिनका लागि थप ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् भने निक्षेप संकलन उपकरणको बोलकबोल आजै सम्पन्न हुनेछ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता तान्ने प्रक्रिया अपनाउने गर्छ।















प्रतिकृया