माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा समानता ल्याउने निर्णय गरेको छ। विगत चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग बुधबार सहमति भएपछि कम्पनीले तलब तथा अन्य सुविधामा एकरूपता कायम गर्ने प्रतिबद्धता जनाएको हो।
सहमतिअनुसार बाहिरी जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीहरूको तलब तथा अतिरिक्त सुविधाहरू समान हुनेछ। त्यस्तै एकरूपता कायम गरिएको सेवा सुविधा गएको फागुन महिनादेखि नै लागू हुनेछ । यसअघि कम्पनीले जिल्लाबाहिरकालाई ७५ र दोलखाकालाई ५० प्रतिशत सुविधा दिँदै आएको थियो ।
यसअघि गत असोज ६ गते आयोजना व्यवस्थापन र कर्मचारीहरूबीच माघ मसान्तसम्म सेवा सुविधामा एकरूपता ल्याउने सहमति भएको थियो। तर, सहमति कार्यान्वयनमा ढिलाइ भएपछि कर्मचारीहरूले चैत १० गतेदेखि आन्दोलन थालेका थिए। बुधबार भएको छलफलमा आयोजनाले सहमति कार्यान्वयनमा भएको ढिलाइप्रति माफी माग्दै सबै सेवा सुविधामा समानता ल्याउने निर्णय गरेपछि कर्मचारीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। उनीहरू भोलिदेखि नियमित काममा फर्किने भएका छन्।
















प्रतिकृया