नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते समाप्त हुन लागेकाले मन्त्रिपरिषद्ले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठन भएको समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको नेतृत्वमा पूर्वगभर्नरमध्ये एक जना र वित्तीय, मौद्रिक, बैंकिङ वा वाणिज्य कानुनको क्षेत्रमा अनुभवी एक जना सदस्य रहने गरी सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ।
मन्त्रिपरिषद्ले फागुन २६ गते बसेको बैठकमा समिति गठन गर्ने निर्णय गरेको थियो।
गभर्नरको दौडमा को-को?
सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ। कानुनी व्यवस्थाअनुसार तीन मध्ये एक जना डेपुटी गभर्नर हुनैपर्नेछ भने बाँकी दुई जना अर्थतन्त्र, बैंकिङ, मौद्रिक नीतिका विज्ञ वा प्रशासनिक पृष्ठभूमिका व्यक्ति हुन सक्नेछन्।नयाँ गभर्नरको पदका लागि विभिन्न व्यक्तिहरू दौडमा छन्।
हालका डेपुटी गभर्नर बमबहादुर मिश्र एमालेमार्फत आफ्नो उम्मेदवारीलाई अगाडि बढाइरहेका छन्। अर्की डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना, पहिलो महिला गभर्नर बन्ने आकांक्षासहित, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत समर्थन जुटाउने प्रयासमा छिन्।लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पनि बलियो दावेदारका रूपमा चर्चामा छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पनि गभर्नरमा रुचि देखाएका छन्, र उनी कांग्रेस निकट मानिन्छन्। राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पनि गभर्नरको आकांक्षीका रूपमा अघि बढेका छन्।
राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटी र रवीन्द्रनाथ पाण्डे एमाले निकट उम्मेदवारका रूपमा चर्चामा छन्। पूर्वअर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार आयोगका अध्यक्ष रामेश्वर खनाल पनि सम्भावित गभर्नरका रूपमा चर्चा पाइरहेका छन्।
पत्रकारिताबाट पहिचान बनाएका गोकर्ण अवस्थीलाई निजी क्षेत्रको समर्थन रहेको चर्चा छ। निजी क्षेत्रले उनलाई गभर्नर बनाउन लबिङ गरिरहेको बताइन्छ। नविल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना कांग्रेस निकट मानिन्छन् भने प्रभु बैंकका सीईओ अशोक शेरचन एमाले समर्थित उम्मेदवारका रूपमा अगाडि बढिरहेका छन्। पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई पनि सम्भावित उम्मेदवार मानिएको छ।











![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)




![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया