नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि पार्टीमा कुनै गुट नभएको र जिम्मेवारी अब युवाको काँधमा परेको बताएका छन्।
नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले अब पार्टीमा कुनै गुट नभएकाले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिएका छन्।
शर्माले नेपाली कांग्रेस सुशासन, समृद्धि र महङ्गी नियन्त्रण गर्ने अभियानमा सधैं लागिरहेको उल्लेख गर्दै युवाका मागलाई सम्बोधन गर्दै कांग्रेस अघि बढ्ने बताए। उनले भने, “नेपाली कांग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रूपमा आफ्ना हरेक गतिविधि गर्नसक्ने वातावरण कांग्रेसमा मात्र छ।”
कांग्रेसतर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार भएका माधवप्रसाद बाँस्तोलाले नेपाली कांग्रेसले युवाका मागलाई समेटेर अघि बढ्ने र पार्टीको नेतृत्व सभापतिले पनि युवालाई सुम्पिएको बताए। कांग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसमा नेपाली जनताले विश्वास गर्ने दाबी गरेका छन्।
















प्रतिकृया