गरिमा क्यापिटलको पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना “गरिमा सुवर्ण योजना” को इकाई बाँडफाँड आइतबार सम्पन्न भएको छ। क्यापिटलले फागुन २८ गतेदेखि चैत्र ११ गतेसम्म गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो ओपन म्युचुअल फण्डको इकाई निष्काशन गरेको थियो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेकोमा पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गरिएको थियो। यसमा बिज पूँजीका रूपमा ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई, ९० लाख इकाई कोष प्रबर्दक गरिमा विकास बैंकलाई छुट्याइएको थियो भने बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो।
क्यापिटलका अनुसार पहिलो चरणको निष्काशनमा बीज पूँजी सहित १,०६,७९४ आवेदकबाट कुल ७१ करोड ५७ लाख ८३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३ सय २० इकाई खरिदका लागि आवेदन प्राप्त भएको थियो, जुन मागभन्दा बढीको आवेदन थियो। ती आवेदकमध्ये १७० जनाबाट ४१ हजार इकाई खरिदका लागि आवेदन रीतपूर्वक नदेखिएकाले बाँडफाँडमा समावेश नगरी बाँकी १,०६,६२४ आवेदकले मागेको ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ३७ हजार ३ सय २० इकाई (बीज पूँजी सहित) अनुरूप बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सार्वजनिक निष्काशन गर्न स्वीकृति प्राप्त भएको र योजनाको विवरणपत्र अनुसार अधिकतम बिक्री योग्य इकाई संख्या बीज पूँजी सहित १० करोड इकाई रहेको हुँदा, पहिलो चरणमा ५ करोड इकाई मात्र आवेदनका लागि आह्वान गरिएको भए पनि रीतपूर्वक आवेदन दिएका सबै आवेदकलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” अनुसार माग अनुसार बाँडफाँड गरिएको छ।
गरिमा सुवर्ण योजना खुलामुखी योजना भएकाले यसको इकाई खरिद-बिक्री नेपाल स्टक एक्सचेञ्जमार्फत तत्काल गर्न मिल्दैन। तर, इकाई बाँडफाँड भएको मितिबाट तीन महिनापछि योजनाको इकाई नियमित खरिद-बिक्री (एसआईपी समेत) गर्न मिल्ने गरी कारोबार सञ्चालनमा ल्याइने क्यापिटलले जनाएको छ।











![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया