काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले भोलि (चैत १५ )गते प्रदर्शन गर्नेछन्। प्रदर्शनका कारण काठमाडौंका सडकमा बिहानैदेखि ट्राफिक जाम हुन सक्नेछ। प्रदर्शनले बिहानैदेखि सडकमा जाम सिर्जना गर्न सक्ने भएकाले १,८०० ट्राफिक प्रहरी खटाइनेछ।
गणतन्त्रवादीहरूले भृकुटीमण्डपमा राति १२ बजेदेखि नै स्टेज बनाउन सुरु गर्नेछन्, भने तीनकुनेमा राजावादीहरूको प्रदर्शन हुनेछ। विभिन्न ठाउँबाट र्याली निकालिने भएकाले सवारी आवागमन असहज हुनेछ।
समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन्। उता, दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले तीनकुनेमा कार्यक्रम गर्नेछ, जसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन जनाएको छ।
भृकुटीमण्डपमा बिहान ११ बजे र तीनकुनेमा दिउँसो १ बजे प्रदर्शन तय भएको छ। ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा सवारी आवागमन प्रभावित हुन सक्छ।




















प्रतिकृया