संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभा सदस्यको स्थान रिक्ततासम्बन्धी सूचना पढेर सुनाउने र सो विषयमा सभालाई जानकारी गराउने कार्यक्रम पनि तय गरिएको छ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभा समक्ष पेस गर्ने कार्यसूची छ। यस्तै विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछिन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी अध्यक्षले पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाकी पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री एवं पूर्वसांसद आमोदप्रसाद उपाध्याय तथा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पेस गर्ने कार्यसूची छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)
प्रतिकृया